रमेशकुमार वली / सल्यान । पश्चिमी क्षेत्रमा बाढीले सिंचाइ कुलो बगाउँदा एक हजार चार सय रोपनी खेत बाँझो हुने देखिएको छ । केही दिनदेखि परेको अविरल वर्षाले वनगाड कुपिण्डे नगरपालिका –२ लाहाघाटको कुलो बगाएपछि रोपाइँ गर्न गरी तयारी गरिएका खेतसमेत बाँझै हुने निश्चित भएको छ ।
विसं २०४४ मा निर्मित कुलामा टाटेपहरको पहिरो आउँदा पक्की सिंचाइ कुलो तहसनहस भएको स्थानीयवासी ओठे रानाले जानकारी दिए । “कुलोमै बाढी पसेपछि ठाउँठाउँमा पहिरो जानाका साथै सिंचाइ कुलो तहसनहस भएको छ, तत्काल मर्मत गरेर सञ्चालन गर्न सक्ने अवस्था नभएपछि ११० घर परिवारको खेत बाँझै हुने देखिएको छ”, रानाले भने ।
यस क्षेत्रमा ३३ वर्षपछि यति ठूलो पानी परेको हो । सिंचाइ कुलो बिगारेपछि कृषक चिन्तित हुन थालेका छन् । “अब न अरु कुनै बाली लगाउन सकिन्छ न तत्काल कुलो मर्मत गरेर रोपाइँ गर्न सकिन्छ, कोरोनाले मरिएन, अब भोकमरीले त मरिने होला,” पीडित किसान जीवन रानाले भने ।
बाढीले गाउँमा जाने पाइपसमेत बगाएपछि गाउँमा खानेपानीको समस्या भएको रानाले बताए ।“खेतमा धानको ब्याड रोप्ने भइसकेको छ, पानी नभएपछि अब कसरी रोपाइँ गर्नू ? खानेपानीको समेत गाउँमा हाहाकार भएको छ”, उनले भने ।
बाढीले सिंचाइ कुलो बगाउँदा सिङ्गो गाउँ नै भोकमरीमा पर्ने खतरा रहेको वनगाड कुपिण्डे नगरपालिका २ का वडाध्यक्ष प्रतिमल बुढाले जानकारी दिए ।“ खेतमा धान रोपाइँ गर्ने अर्को कुनै विकल्प नभएको, सिंचाइ कुलो बाढीले तहसनहस पारेकाले मर्मतसम्भार गर्ने अवस्था नभएको र यसले अब पूरै गाउँमा नै खाद्यसङ्कट आउने वडाध्यक्ष बुढाले चिन्ता व्यक्त गरे ।
अहिलेसम्म आफूले यति ठूलो बाढी आएको नदेखेको र एक्कासि बाढी तथा ठाउँठाउँमा पहिरो आएर सिंचाइ कुलो भत्काएको वडाध्यक्ष बुढाले जानकारी दिए । सिंचाइ कुलो भत्किएपछि रोपाइँका लागि तयारी अवस्थामा रहेको धानको व्याडसमेत सुक्न थालेको छ ।
तत्काल खानेपानी तथा सिंचाइ कुलो मर्मतका लागि वैकल्पिक उपाय नगरेकाले नगरपालिकाभित्रकै सबैभन्दा बढी खेतीयोग्य जमीन बाँझै रहने अवस्था देखिएको प्रभावित कृषकले बताएका छन् । तत्काल कुलो मर्मत हुन नसके पनि कुनै वैकल्पिक उपाय गरेर खेत बाँझो नरहने गरी सहयोग गर्न किसानले आग्रह गरेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया