सतर्क रहन ‘एसएमएस’ आयो ? सावधान ! यी ठाउँहरुका नदीहरूमा बहाव बढ्दैछ

काठमाडौं – आजदेखि शनिबारसम्म बाढीपहिरोको जोखिम बढ्ने भएको छ ।

मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजीक रहने भएकोले नेपालमा मनसुन थप सक्रिय भई बाढीपहिराको जोखिम बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए ।

मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन कन्काई, कोशी, कमला, बागमती, नारायणी र यसका सहायक नदीहरुमा बहाव बढ्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । केही नदीहरुमा पानीको बहाव बढेर खतराको तहसम्म पुग्ने अनुमान छ ।

गएराति देखि नै मनसुन सक्रिय भएसँगै देशका धेरैजसो स्थानमा लगातार वर्षाका साथै तराई र पहाडका केही भूभागमा भारी वर्षासमेत भईरहेको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाको वडा नम्बर ५ स्थित जम्बुमा बाढीले ११ घर बगाउँदा २ जनाको मृत्यु भईसकेको छ भने १८ जना बेपत्ता छन् । २ जना घाईते भएका छन् । राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले उधुम मच्याएको छ ।

कुन दिन कहाँ कहाँ जोखिम ? 
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही र आसपास भई बहने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना भएकाले तटिय क्षेत्रमा सतर्क रहन भनिएको छ ।

कोशी, बागमती, नारायणी, पश्चिम राप्ती र कर्णाली नदीमा पानीको बहाव बढ्दो छ । खोटाङ–ओखलढुंगाको दूधकोशी नदीको बहाव सतर्कता तहको आसपास पुगेको छ । यी क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत् जोखिमको सूचना दिइएको पनि महाशाखाले जनाएको छ ।

यस्तै कन्काई, कमला, बागमतीमा सतर्कताको तहसम्म बहाव पुग्ने पूर्वानुमान गरिएको छ । यस्तै मेची, बिरिङ, निन्दा, लोहन्द्रा, चिसाङ, त्रियुगा, माउली, गगान, खाडो, रातो, चुरियाखोला, लालबकैया लगायत प्रदेश १, २ र बागमती प्रदेशका नदीहरुको बहाव सतर्कताको तहसम्म पुग्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज र भोलि बागमती, गण्डकी र प्रदेश ५ को मध्यपहाडी, चुरे र तराईबाट बग्ने साना नदीहरुमा पनि आकस्मिक बहावको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २५ असारदेखि २८ असारसम्म खासगरी प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा यस वर्षकै सबैभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको जनाएको छ । भारी वर्षाले बाढी र पहिरोको जोखिम हुने हुँदा सजग रहन भनिएको छ ।

प्रदेश १ र २ का चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले सो क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन एसएमएस लगायत सूचनाबाट आग्रह गरिएको छ ।

झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका जिल्लाका होचा ठाउँमा डुबानको खतरा पनि छ ।

विवरण हेर्नको लागि यो फाईलमा क्लिक गर्नुहोस् : 

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/07/Flood-Bulletin_09July-_2020_7AM-असार-२५_1594263110877.pdf” title=”Flood Bulletin_09July _2020_7AM (असार-२५)_1594263110877″]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?