सालाहको गोलमा लिभरपुलको सहज जित

काठमाडौं । मोहमद सालाहको गोलमा लिभरपुलले प्रिमियर लिग फुटबलमा ब्राईटनलाई पराजित गरेको छ ।  लिभरपुलले ब्राईटनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

बुधबार राति भएको खेलमा लिभरपुललाई जित दिलाउन सालाहले दुई गोल गरे । सालाहले खेलको छैटौ मिनेटमा लिभरपुललाई अग्रता दिलाए । कप्तान जोर्डन हेन्डरसनले आठौं मिनेटमा पाहुना लिभरपुलको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको अन्तिम मिनेटमा लिन्ड्रो ट्रोसर्डले गोल गर्दै ब्राईटनलाई खेलमा फर्काउने संकेत गरेका थिए । तर सालाहले ७६ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई शानदार जित दिलाए ।

यस सिजनको च्याम्पियन लिभरपुलले महत्वपूर्ण तीन अंक बटुलेको छ । जितसँगै लिभरपुल कीर्तिमानी अंकतर्फ अघि बढेको छ । लिभरपुल यस सिजन सिटीले कायम राखेको सय अंकको कीर्तिमान पार गर्न चाहन्छ ।

लिभरपुलले यस सिजन ३४ मध्य ३० खेलमा जित हासिल गरेको छ । जसमा दुई बराबरी र दुई हारको नतिजा रहेको छ ।

शीर्ष स्थानको लिभरपुलले ९२ अंक बटुलेको छ । उसले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसंग २३ अंकको अग्रता लिएको छ । ब्राईटोन ३६ अंक सहित १५ औं स्थानमा छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?