कोरोना परीक्षण व्यापक गर्ने तयारी, परीक्षणको नयाँ मापदण्ड के ?

कोरोना भाइरस रोगले राजधानी उपत्यकालाई च्याप्न थालेपछि सरकारले व्यापक रूपमा पीसीआर परीक्षण गर्ने भएको छ ।
राजधानी उपत्यकामा दिनहुँ कोरोना सङ्क्रमित बढ्न थालेसँंगै सरकारले उपत्यका तथा बाहिर ४५ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गर्ने भएको हो । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले काठमाडाैँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै परीक्षणको दायरा बढाउन लागिएको जानकारी दिए ।
अहिलेसम्म क्वारेन्टाइनमा रहने व्यक्तिहरूको मात्र परीक्षण हुँदै आएको थियो अब भने क्वारेन्टाइन बाहिरका व्यक्तिको पनि परीक्षण गरिने छ ।

रोग नियन्त्रण महाशाखा प्रमुख डा. पाण्डेले स्पष्ट पारे, “अब क्वारेन्टाइन बाहेकका व्यक्तिको कोरोना परीक्षण गरिने छ ।” उनका अनुसार बढी भीडभाड हुने कार्यालयका कर्मचारी, फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, नाकाबाट भित्रिने व्यक्तिहरूको कोरोना परीक्षण गरिने छ ।
यसबाहेक रेड जोनमा परेका जिल्ला दैलेख, अछाम, रौतहट, कपिलवस्तु, बाँके र पाल्पा लगायतमा कोरोना परीक्षण गरिने छ । धेरै सेवाग्राही आउने मालपोत, खानेपानी, विद्युत्, बैङ्क र अस्पतालजस्ता कार्यालयका अग्रपङ्क्तिमा खटिने कर्मचारीको कोरोना परीक्षण गर्ने तयारी गरिएको बताउँदै उनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट बिहीबार टेकु, कालीमाटी तथा कलङ्की क्षेत्रका कार्यालयमा कार्यरत कर्मचारीको स्वाबको नमुना सङ्कलन गरिने जानकारी दिए ।गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?