नयाँ हुलाक टिकट आउँदै

काठमाडौँ, ६ असोज ।हुलाक सेवा विभागअन्तर्गत नेपाल फिलाटेलिक ब्युरोले विभिन्न प्रकारका नयाँ हुलाक टिकट प्रचलनमा ल्याएको छ ।सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले ओखलढुंगाको पोकली झरना, नेपाली खाना परिकार (योमरी, सेलरोटी अनर्सा र लाखामरी), परम्परागत गरगहना (तिलहरी, बाला, कल्ली र बुलाकी), राष्ट्रिय झण्डा र निर्वाचन आयोगको प्रतीक चिह्नअंकित नयाँ हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा लगाए ।त्यसैगरी जनकविकेशरी धर्मराज थापा र राजनीतिकर्मी सरोज कोइरालाको तस्वीर तथा प्राचीन स्तनधारी जनावरअंकित टिकटको पनि आजै प्रथम टाँचा लगाइएको छ । ती टिकटको मूल्य रु एकदेखि पाँच सयसम्म तोकिएको छ ।सो अवसरमा मन्त्री बस्नेतले यस किसिमको टिकट प्रकाशनले नेपालको परम्परागत संस्कृति, लोपोन्मुख प्रजाति तथा भौगोलिक विविधतालाई जोगाउने बताउँदै लोकसंस्कृति, परम्परा र देशका लागि बलिदान दिने शहीदको सम्मान गर्नुपर्नेमा जोड दिए । उनले नयाँ प्रविधिको विकाससँगै हुलाक सेवालाई पनि मानिसको चाहनानुरुप नयाँ ढंगबाट अगाडि बढाउँदै लानुपर्ने बताए ।सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले हुलाक सेवालाई विस्थापितभन्दा पनि स्थापित गराउनेतर्फ लाग्नुपर्ने बताए । विभागका निमित्त महानिर्देशक राजन पौडेलले मुलुकलाई चिनाउने किसिमको सामग्री टिकटमा राखिएको बताए ।आइतबारदेखि बिक्री गरिने उक्त टिकटको डिजाइन हुलाक सेवामा कार्यरत कला अधिकृत पूर्णकला लिम्बूले गरेकि हुन । प्रत्येक विधाको टिकट ५० हजार प्रति छापिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?