काठमाडौं उपत्यकामा थपिए २८ जना कोरोना संक्रमित

काठमाडौं ।  काठमाडौं उपत्यकामा आज एकैपटक २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका एक जना, पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १२ जना, भक्तपुरका ४ जना र ललितपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका एक जनामा गरेर उपत्काका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज उपत्यकामा भेटिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

हिजो एकैपटक काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैबीच नेपालमा आज (मंगलवार) थप २०४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार १६८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६८८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७ हजार ४९९ जना पुगेको छ ।

नेपालमा हिजो (सोमवार) १८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?