२०७७, २३ असार मंगलवार १५:५३

मछिन्द्रनाथको रथारोहण बुधवारः यस्तो छ किंवदन्ती


प्रकाशित मिति : २०७७, २३ असार मंगलवार १५:५३

सुभानु आचार्य / ललितपुर । ‘वर्षा र सहकालका’ देवता रोतो मछिन्द्रनाथको रथारोहण बुधबार अपराह्न हुँदै छ । मछिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तमम साइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा धमाधम निर्माण भइरहेको रथमा उनलाई विराजमान गराउन लागिएको हो ।

अपराह्न साढे ४ बजेपछि बुँगद्योलाई रथमा विराजमान गराउने राम्रो साइत रहेको ७० वर्षीय ञ्वाँल सूर्यमान डङ्गोलले बताए । उनले भने, “आज रथको सबभन्दा माथिल्लो भागमा ‘बाय्मो’ अर्थात ढकन हाल्ने काम समाप्त भएपछि भोलि (बुधबार) भगवान्लाई राथारोहण गराइन्छ ।” रथ निर्माणका अन्य बाँकी काम भने रथ पुल्चोकमा राखिँदाको समयावधिभरमा सकिने कुरो अघि बढेको डंगोलले जानकारी गराए ।

पुल्चोकमा रक्तावलोकितेश्वरलाई राखिएको चार दिनमा रथ तान्नुपर्ने युगौँदेखिको परम्परा रहँदा यस वर्ष कोरोना भाइरसको जोखिममा के गर्ने भन्ने विषयमा छलफल अघि बढिरहेको छ । केही दिनअघि गुठी संस्थान कार्यालय ललितपुरले तःबहालस्थित हाल करुणावतार राखिएको पाटीको भित्तामा समेत यही असार २४ गते रथारोहण भनेर सूचना टाँस गरिसकेका आधारमा धमाधम काम भइरहेको पानेजु पूर्णराज शाक्यले बताए । उनले भने, “मच्छिन्द्रनाथलाई चारचार जना पुजारीले पालैपालो बोकी बाजागाजा, पूजापाठ र नीतिनियमका साथ पुल्चोक ल्याउने चलन छ ।” सो जात्रा अघि बढाउन ललितपुरका विभिन्न सङ्घसंस्थामा आबद्ध व्यक्ति, धार्मिक सङ्घसंस्था र स्थानीय व्यक्तिले विशेष पहल गरिरहेका छन् ।

यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलन थियो । यस वर्ष कोभिड–१९ का कारण यही असार १० गतेदेखि मच्छिन्द्रनाथको रथ निर्माणको काम अघि बढेको छ । यो काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो ।

किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मछिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।

काठमाडौं उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मछिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउँदै आएका छन् । हिन्दूहरु यिनलाई भर्खरै उदाउन लागेको सूर्यनारायणका रुपमा लिन्छन् । महायानी बौद्ध परम्परामा लोकेश्वरलाई अभिताभ बुद्धका रुपमा लिइन्छ । नेवार बौद्ध संस्कृतिमा आर्यावलोकितेश्वरको निकै ठूलो महिमा छ । यसैले करुणामयलाई विभिन्न नामले सम्बोधन गरेका छन् । बौद्ध पुराणमा लोकेश्वरलाई पद्मपाणि बुङ्मलेकिश्वरका रुपमा सम्बोधन गरिएको छ ।

मछिन्द्रनाथको वर्ण

रक्तावलोकितेश्वर लोकनाथको वर्ण अरुणावर्ण छ । दुई ठूला ठूला आँखा छन् । दबिएको नाक छ । उचाइ चार फुट लामो छ । पवित्र माटो (मृत्तिका, तेराकोटा) बाट बनेको मूर्ति सुन्दर र भव्य देखिन्छ । शिरमा रत्नमुकुट, निधारमा टीका र कानमा रत्नजडित गहनाले मूर्ति सुसज्जित भएको छ । घाँटीमा कर्कोटनागको रत्नमाला, हातमा चुरा र बाला र खुट्टामा कल्ली सुशोभित छन । दाहिने हात वरद मुद्रामा छ । बायाँ हातमा कमलको फूल छ । लोकनाथ विराजमान हुने विहार ललितपुरको तःबहाल र बुङ्मतीको मन्दिर दुवै उत्तरतिर फर्केका छन् । यसैले मूर्ति जहिले पनि उत्तरााभिमुख गरी राखिने भएको मुनीन्द्ररत्न बज्राचार्यद्वारा लिखित पुस्तकमा उल्लेख गरिएको छ ।

करुणामयको सबभन्दा माथिल्लो भागलाई ‘बाय्मो’ भनिन्छ । रथको चारैतिर घोडा, सूर्य, शिवको बाहन गोरु, विष्णुको गरुड, ब्रह्माको राजहंस आदि थरिथरिका मूर्ति हुने ज्ञानबहादुर महर्जनले बताए । उनले भने, “रथको गजुरमा सबै प्राणीको रक्षा गर्ने श्री लोकेश्वरको षड्क्षरी मन्त्र “ॐ मणि पद्मे हुँ लेखिएको ध्वजा पनि फरफराएको हुन्छ ।”

नेपालको सबभन्दा ठूलो जात्रामध्ये करुणामयको रथ तान्नु पनि एक हो । समस्त प्राणीको उद्धारकर्ता करुणामयको जात्रा परापूर्वकालदेखि राजकीय सम्मानका साथ मनाइँदै आएको इतिहास छ । लिच्छविकालीन प्रतापी राजा नरेन्द्रदेवले बुद्धाङ्कित कम्मरपेटी (पटुका) बाँध्ने गरेका थिए । उनले नै लोकनाथलाई नेपाल ल्याई अति श्रद्धाका साथ जात्रा गर्ने प्रथा चलाए । करुणामयको रथको सबैभन्दा माथिल्लो टुप्पा (धकिं बाय्मो) मा स्वयम्भू भगवानको मूर्तिलाई विराजमान गराइने रथ निर्माणमा लागिपरेका कालिगढको भनाइ छ ।

भोटोजात्राको कथा

किंवदन्तीअनुसार काठमाडौं उपत्यकामा रहेको टौदहमा एक जोडी नाग दम्पती बस्थ्यो । त्यो नागहरुका राजा कर्कोटक नागको जोडी थियो । एक पटक नागिनीको आँखा बिरामी भयो । राजाले नागिनीको आँखा उपचार गराउने वैद्य खोज्ने क्रममा भक्तपुरमा एक जना जान्ने ज्यापू वैद्य रहेको थाहा पाए । कर्कोटक नाग ज्यापू वैद्यलाई खोज्न गए । नागले ज्यापूलाई नागिनीको आँखा दुखेको बिन्ती बिसाए । ती ज्यापू वैद्यले नागको अनुरोध स्वीकारे । दुवै टौदह पुगे । वैद्यले नागिनीका आँखामा मलम बनाएर लगाइदिए । उनको आँखा निको भयो । नागनागिनी ज्यादै खुशी भएर ज्यापू वैद्यलाई अनेक पुरस्कार दिए । सो पुरस्कारमा अनेक किसिमका मणि जडेको झलझल झल्कने भोटो पनि थियो । त्यो भोटो लगाएर ज्यापू वैद्य ढल्कँदै हिँड्थे । ज्यापूको त्यति राम्रो भोटो देखेर भूतलाई लोभ लाग्यो । ज्यापूले भोटो फुकालेर आलीमा राखी खेत खन्न थालेपछि भूतले भोटो सुटुक्क चोरेर लग्यो । हस्याङ्फस्याङ गर्दै वैद्य भूतको पछि लागे । उनले भूतलाई समात्न सकेनन् ।

पाटनमा त्यसअघि मछिन्द्रनाथको रथ तान्ने मात्र चलन थियो । यस समय मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल ल्याइपुर्‍याउँदा उपत्यकावासी र भूतप्रेतहरु पनि जात्रा हेर्न आउँथे । त्यो भोटो चोर्ने भूत पनि जात्रामा आउँछ कि भनेर ज्यापू त्यहाँ आइपुगे । नभन्दै झल्झली झल्केको भोटो लगाएर भूत जात्रा हेर्न आएको रहेछ । त्यो भूत झिलिक्क देखिएर मिलिक्क हराउँथ्यो । बल्लतल्ल वैद्यले पछाडिबाट भूतका पाखुरामा च्याप्प समाते । उनले भूतसँग आफ्नो भोटो मागे । भूतले मानेन । दुवैका बीच ठूलो झगडा भयो । राजा गुणकामदेव पनि मच्छिन्द्रनाथको दर्शन गर्न र जात्रा हेर्न त्यहाँ आएका थिए । राजाका भारदारले ती दुवैबीच ठूलो झगडा भएपछि राजाका अगाडि हाजिर गराए ।

वैद्यले राजासामु “महाराज मलाई कर्कोटक नागले दिएको भोटो यसले चोर्‍यो” भने । भूतले भोटो मकैबारीमा आफूले पाएको राजासामु बतायो । गुणकामदेव न्यायी र धर्मात्मा राजा भएकाले दुवैसँग प्रमाण मागी निर्णय नहुञ्जेल त्यो भोटो नासोका रुपमा मच्छिन्द्रनाथको पुजारीलाई राख्न अनुरोध गरेको मानिन्छ ।

प्रमाणका लागि ज्यापू वैद्य टौदह किनारमा पुगेर कर्कोट नागलाई भेटे । नागले आफू पनि मान्छेको रुप लिई सेतो लुगा लगाएर मच्छिन्द्रनाथ जात्रामा साक्षी बन्न आउने बताए । “म आउँदा हुरी चल्नेछ । म अरुभन्दा अग्लो पनि देखिने छु” रासस

प्रतिक्रिया दिनुहोस