अध्ययनले भन्छ- ‘पर्याप्त रोजगारी सिर्जना गर्न सके लागूऔषध नियन्त्रण हुन्छ’ !

काठमाडौं । सरकारले पर्याप्त रोजगारी सिर्जना गर्न सके लागूऔषध नियन्त्रणमा ठूलो सहयोग पुग्ने एक अध्ययनले देखाएको छ ।

झण्डै ४० प्रतिशत व्यक्तिले बरोगजारीका कारण लागूऔषध प्रयोग गर्ने गरेकोले सरकारले रोजगारी सिर्जनाका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने अध्ययनले देखाएको छ । सीमानाकामा चेकजाँच बढाउने, सचेतना कार्यक्रम गर्ने, निःशूल्क उपचारको व्यवस्था गर्ने र सीप विकासका कार्यक्रम गर्न सके लागू औषधको प्रयोग घटनाउन सकिने अध्ययनले देखाएको छ ।

कुल प्रयोगकर्ता मध्ये ३९ दशमलव ७ प्रतिशत बेरोजगारी, १५ दशमलव ९ प्रतिशत व्यापार र १५ दशमलव ६ प्रतिशत दैनिक ज्यालादारी गर्ने व्यक्ति रहेका छन् । यसैगरी नोकरी गर्ने, ११ दशमलव ७, अध्ययन ८ दशमलव ७, वैदेशिक रोजगारीमा रहेका ४ दशमलव १, कृषि क्षेत्रमा ३ र अन्य क्षेत्रमा कार्यरत शून्य दशमलव ६ प्रतिशत लागूऔषध प्रयोगकर्ता रहेका छन् । गृहमन्त्रालय लागूऔषध विभागका प्रमुख उपसचिव झंकनाथ ढकालका अनुसार लागु औषध प्रयोग गर्नेको संख्या पनि बढ्दै गएको छ । केन्द्रीय तथ्याङ्क विभागको सहयोगमा गृहमन्त्रालयले गरेको अध्ययन अनुसार वि.स. २०६९ को तुलनामा ०७६ सालमा ५ दशमलव ६ प्रतिशतले प्रयोगकर्ताको संख्या बढेको छ । २०६९ मा ९१ हजार ५ सय ३४ जना प्रयोगकर्ता रहेकोमा २०७६ सालमा गरिएको अध्ययनले त्यो संख्या बढेर १ लाख ३० हजार ४ सय २४ पुगेको उहाँले बताए ।

२०६९ मा गरिएको अध्ययनको तुलनामा २०७६ मा गरिएको अध्ययनले २५ देखि २९ वर्ष उमेर समूहका व्यक्ति लागूऔषधको बढी प्रयोग गर्छन् ।

साथीहरुको संगतले ६७ दशमलव ७ प्रतिशतले लागूऔषध प्रयोग गर्नेहरु रहेको अध्ययनले देखाएको छ । डुलन्ते विक्रेताबाट १४ दशमलव १, औषधि पसलबाट ८ दशमलव ४, अन्य पसलबाट ७ दशमलव २ र इन्टरनेको माध्यमबाट २ दशमलव ५ प्रतिशतले लागुऔषधि लिइरहेका छन् । सबैभन्दा बढी ५१ दशमलव १ प्रतिशतले एकान्त ठाउँ र २० दशमलव ४ प्रतिशतले घरमै यसको प्रयोग गर्ने गरेका अध्ययनले देखाएको छ । झाडीमा १२ दशमलव ८, होटल तथा रेष्टुरेण्टमा २ प्रतिशत, पाटी पौवामा डेढ प्रतिशत, पुलमुनि ४ दशमलव ३ प्रतिशतले लागु औषध सेवन गर्नेहरु रहेका छन् ।

साथीसँगीको दबाबा कारण लागू औषध प्रयोग गर्नेको संख्या बढी रहेको छ । ८९ दशमलव ४ प्रतिशतले साथीहरुको दबाबमा यसको प्रयोग गर्छन् । ७२ दशमलव १ प्रतिशले मनोरञ्जनका लागि, ६२ दशमलव ५ प्रतिशतले उत्सुकताका लागि ४५ ६ प्रतिशतले खुसी हुन ३० दशमलव ६ प्रतिशतले मानसिक तनावका कारण यसको सेवन गर्ने गरेका छन् । यस्तै पारिवारिक समस्याका कारण १८ दशमलव ९, डिप्रेसनका कारण १४ दशमलव ९ र पढाइमा आउने समस्याका कारण ८ दशमलव ९ प्रतिशतले लागूऔषध सेवन गर्ने गरेको अध्ययनले देखाएको छ ।

लागूऔषध सेवनकर्तामध्ये १५ प्रतिशतमा हेपाटाइटिसको समस्या देखिने गरेको छ । मानसिक विचलन ४ दशमलव १ प्रतिशत, क्षयरोग ४ प्रतिशत, एचआइभी÷एड्स ३ दशमलव ५ प्रतिशत र २ दशमलव ५ प्रतिशतमा एस.टि.डीको समस्या देखिने गरेको छ । ४७ दशमलव २ प्रतिशत प्रयोगकर्ताहरुले आफ्ना जीवन सुधारका लागि रोजगारी वृद्धि गर्नुपर्ने अपेक्षा राखेका छन् । ३६ दशलमव ९ प्रतिशतले निःशूल्क उपचार, २२ दशमलव ८ प्रतिशतले सीप विकास तालिमको व्यवस्था, २१ दशमलव १ प्रतिशतले सचेतना कार्यक्रम र १५ प्रतिशतले प्रभावकारी आपूर्ति नियन्त्रण गरे प्रयोगकर्ताहरुको जीवनमा सुधार ल्याउन सकिने अपेक्ष उनीहरुले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?