गोली हानि शिक्षकको हत्या गर्ने ११ वर्षपछि पक्राउ

काठमाडौं । शिक्षकको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका–१८ बस्ने ४४ वर्षीय नन्दु बैठा (तिलक) लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

नन्दु लगायतका व्यक्तिहरुले २०६६ वैशाख १७ गते बारा साबिक फेटा गाविस–१ स्थित नेरामावि फेटाका शिक्षक प्रदिप कुमार तिमिल्सीनाको हत्या गरेका थिए । विद्यालयबाट घर फर्किने क्रममा उनीहरुले गोली प्रहार गर्दा शिक्षकको घटनास्थलमै मृत्यु भएको थियो ।

हत्यापछि मुख्य अभियुक्त नन्दु हालसम्म फरार रहेका थिए । हत्यामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नन्दुलाई पक्राउ गरेको हो ।

साथै हत्यामा संलग्न बारा गंजभवानीपुर बस्ने अग्नि भनिने सुनिल जैसवाललाई २०७० साउन २४ गते र बारा साविक फेटा–१ बस्ने विजय पटेललाई २०७३ पुस २२ गते प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको थियो ।

सुनिललाई सर्वस्वसहित जन्म कैद सजाय तोकिएको र विजय पुर्पक्षमा कारागार कार्यालय वीरगञ्जमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नन्दुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बारामा पेश गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?