रासायनिक मल नहुँदा भकारो कार्यक्रम लोकप्रिय

वीरगञ्ज । पशुको गोबर र मूत्र व्यवस्थापन गरी मलखादको रुपमा फाइदा लिन पर्सा जिल्लामा कार्यान्वयनमा आएको भकारो कार्यक्रम लोकप्रिय हुँदै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) द्वारा कार्यान्वयनमा ल्याइएको सो कार्यक्रमबाट हालसम्म एक हजार परिवार लाभान्वित भएका छन् । वरिष्ठ कृषि अधिकृत रोशन अधिकारीले भने, “यसरी सञ्चित गरिएको मलले रासायनिक मलको अभाव भइरहेको समयमा फाइदा लिन सकिने छ ।”

आर्थिक वर्ष २०७६–०७७ मा लागू भएको सो कार्यक्रम पहिलो चरणमा बहुदरमाई नगरपालिकामा मात्र लागू गरिएको थियो । आगामी आर्थिक वर्षदेखि अन्य स्थानीय तहमा पनि विस्तार गरिने लक्ष्य रहेको जनाइएको छ ।

किसान विवेक कुशवाहाले आफ्नो दुई कट्ठा जग्गामा तरकारी खेती गरी राम्रो आम्दानी लिएको बताए । अर्का किसान प्रमोद यादवले १५ कट्ठा जग्गामा तरकारी खेती गर्नेतर्फ हौस्सिएका छन् । तरकारी जोन कार्यक्रम लागू भएपछि यसमा आबद्ध किसानको जीवनस्तरमा सुधार आएको छ ।

सो कार्यालयले आर्थिक वर्ष २०७६–०७७ मा साना सिँचाइ कार्यक्रमअन्तर्गत ५० लाख ५० हजार बराबरको ७६ वटा पानी तान्ने मोटर तथा ९६ वटा पम्पसेट विरतण गरेको छ । सो पम्पसेटबाट २०० हेक्टर क्षेत्रफल सिञ्चित हुने वरिष्ठ कृषि अधिकृत अधिकारीले बताए ।

सो कार्यालयले सोही अवधिमा साना मेशिनरी कार्यक्रमअन्तर्गत १५ लाख ४० हजार मूल्य बराबरको ३४० वटा डिजिटल काटा र इलेक्ट्रिकल चेयर वितरण गरेको छ । सोअन्तर्गत १८ लाख ४४ हजार ५०० इलेक्ट्रिकल स्पेयर वितरण गरेको छ । यसमा किसानको ५० प्रतिशत र कार्यालयको ५० प्रतिशत लगानी रहेको छ ।

यसैगरी प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत किसानको तरकारी क्षेत्रफल र उत्पादकत्वको आधारमा ११७ वटा कृषक समूह, उद्यमी र सहकारीलाई सिधै खातामा जम्मा हुने गरी सात लाख ६० हजार रकम अनुदान दिएको छ ।

लामो समयदेखि जारी रहेको लकडाउनको कारण उत्पादित तरकारी बिक्री नभएको तथा क्षति भएकाले किसानको उच्च मनोबल बढाउन उक्त अनुदान दिएको कृषि अधिकृत पुरुषोत्तम रौनियारले जानकारी दिए। कार्यालयले किसानलाई तरकारी खेतीतर्फ सूचना प्रवाह गर्न मोबाइल एप्स तथा निःशुल्क पासो वितरण गरेको छ ।

किसानको उत्पादनलाई ३० प्रतिशत वृद्धि गर्ने उद्देश्यले कार्यालयले सहभागितात्मक उन्नत प्रविधिको प्रदर्शन, प्लाष्टिक कचिगंको प्रयोगजस्ता कार्यक्रम सञ्चालन गरेको छ । भकारो सुधार कार्यक्रमअन्तर्गत १०० किसानलाई सहयोग गरेको थियो ।

सो कार्यालयले लागू गरेको तरकारी खेतीसम्बन्धी कार्यक्रमबाट एक हजार परिवार किसान लाभान्वित भैसकेका छन् । जिल्लाको विभिन्न ठाउँमा किसानले २१ हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा परवलखेती गरिरहेका छन् । सो कार्यक्रमलाई विस्तार गर्ने नीतिसमेत रहेको जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?