कामपाद्वारा ‘ए’ डिभिजन फुटबल क्लबलाई १० लाख सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले छ वटा ‘ए’ डिभिजन फुटबल क्लबलाई १० लाखका दरले सहयोग रकम प्रदान गरेको छ ।

महानगरले आज काठमाडौंमा आयोजना गरेका कार्यक्रममा आफ्नो क्षेत्रभित्र रहेका छ वटा ए डिभिजन क्लबलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको हो । उक्त रकम नगरप्रमुख विद्यासुन्दर शाक्यले हस्तान्तरण गरेका हुन् ।

महानगरले गत वर्ष पनि ए, बी र सी डिभिजन क्लबलाई आर्थिक सहयोग गरेको थियो । आज सहयोग पाउने क्लबमा क्रमशः मछिन्द्र क्लब, सरस्वती युवा क्लब, हिमालयन शेर्पा क्लब, काठमाडौँ खेल मण्डल (एनआरटी), सङ्कटा क्लब र मनाङ मस्र्यादी क्लब रहेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख शाक्यले खेलकुद विकास तथा प्रर्वद्धनका लागि सहयोग रकम हस्तान्तरण गरेको बताए । उनले खेलाडीको दैनिकी, व्यायाम र खेलकुदको विकासका लागि खेलकुदलाई शहरी जीवन पद्धति बनाउन महानगरले खेलकुदमा क्रमशः लगानी बढाउँदै लैजाने नीति लिएको पनि जानकारी दिए ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि नयाँ कामको थालनी गरेको भन्दै प्रशंसा गरे । “डिभिजन क्लबहरुलाई आर्थिक सहयोग गर्ने ऐतिहासिक परम्पराको थालनी काठमाडौं महानगरपालिकाले गरेपछि अहिले अन्य महानगरपालिकाले पनि त्यसलाई निरन्तरता दिएका छन्” शेर्पाले भने ।

त्यसैगरी मछिन्द्र क्लबका अध्यक्ष प्रवोधवीरसिंह कंसाकारले पनि खेल विकासका लागि महानगरपालिकाले गरेको सहयोगको प्रशंसा गरे । महानगरले उपलब्ध गराएको रकम क्लबहरुले खेलकुद प्रयोजनका लागि मात्र प्रयोग गर्न पाउनेछन् । क्लबहरुले आयोजना तथा सञ्चालन गर्ने प्रतिस्पर्धामा प्रयोग हुने जर्सी, ट्रयाक, ट्राउजर, फुटबल ब्यागजस्ता सामानमा महानगरको लोगो अङ्कित गर्नु पर्नेछ । महानगरको नीति र प्रचलित कानूनविपरीत क्लबले काम गरे सम्झौता स्वतः खारेज हुनेछ ।

यसअघि २०७५ साल भदौ २५ गते प्रत्येक क्लबलाई नौ लाख ३० हजार सहयोग रकम प्रदान गरिएको थियो । यसैगरी २०७६ वैशाख २३ गते बी र सी डिभिजन क्लबलाई क्रमशः तीन लाख र दुई लाख सहयोग रकम प्रदान गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?