सामाजिक विकासमा सहकार्य गर्न प्रहरी हाम्रो टोलमा’ अभियान

काठमाडौँ, ६ असोज ।गृह मन्त्राललयले ‘शान्ति सुरक्षा र सुशासन ः जनमैत्री प्रहरी र प्रशासन’ नारासहित ‘प्रहरी हाम्रो टोलमा’ अभियान आजबाट शुरु गरेको छ ।गृहमन्त्री जनार्दन शर्माले अभियानको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै सो अभियान एक साथ आज देशभर दुई हजार ५०० प्रहरी इकाईमा लागू भएको जानकारी दिए ।गृहमन्त्री शर्माले प्रस्तुत गरेको ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्रअन्तर्गत रहेर आम नागरिकलाई केन्द्रविन्दुमा राखी यो अभियान शुरु गरिएको हो । अभियानले नागरिकसँग प्रहरी र प्रशासनको सम्बन्ध अझ प्रभावकारी बनाउने, प्रहरी प्रशासनलाई अझ जन–उत्तरदायी बनाउने तथा शान्तिसुरक्षामा नागरिकको सहभागिता बढाउने लक्ष्य राखिएको छ ।देशभरको प्रत्येक समाजलाई टोलका रुपमा विकास गरी टोल सुधार समिति गठन गरेर आपराधिक गतिविधि नियन्त्रण गर्न र सामाजिक विकास कार्यमा सहकार्य गर्ने उद्देश्य राखिएको छ ।कार्यक्रममा गृहमन्त्री शर्माले आम नागरिकको शान्ति, सुरक्षा र समृद्धिको अभिलाषालाई पूरा गर्न अभियान ल्याइएको र यो सफल हुने विश्वास व्यक्त गरे । मन्त्री शर्माले यो अभियान प्रहरी र समुदायबीच समन्वय गरी टोलटोलमा समन्वय समिति गठन गरीने जानकारी दिए । समाज र राष्ट्रियता बलियो बनाउन, सामुदायिक प्रहरीको अवधारणालाई थप परिमार्जन गर्न अभियान ल्याइएको शर्माको भनाइ छ । अर्को प्रसंगमा मन्त्री शर्माले सरकारले इतिहासकै शान्तिपूर्ण निर्वाचन गर्न सफल भएको र अब हुने प्रदेश र सङ्घको निर्वाचन पनि त्यस्तै शान्तिपूर्ण हुने बताए । उनले संघीय प्रहरी ऐन तर्जुमा भइरहेको र छिट्टै संसद्मा प्रस्तुत हुने जानकारी दिए ।कार्यक्रममा गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले प्रहरीलाई आधुनिक र जनमैत्री बनाउने लक्ष्यसहित ‘प्रहरी हाम्रो टोलमा’ अभियान ल्याइएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?