नेपालमा हालसम्म कति भयो कोरोना परिक्षण ?

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय २१ जनाको परिक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  योसँगै सोमबारसम्म पीसीआर विधिबाट २ लाख ५५ हजार ७ सय २७ जनाको कोरोना परिक्षण भएको छ ।

यस्तै आरडिटी विधिबाट ३ लाख ११ हजार ७ सय २४ जनाको परीक्षण भएको छ । यद्यपी विज्ञहरुले यो परिक्षण पर्याप्त नभएको भन्दै परिक्षणको दायरा बढाउन माग गरिरहेका छन् ।

देशका विभिनन सहरमा युवाहरुले शतप्रतिशत पिसिआर जाँचका लागि दबाब दिन विभिन कार्यक्रम गरिरहेका छन् । तर स्वास्थ्यमन्त्री आफैँले असार १५ गतेदेखि प्रत्येक दिन १० हजार हाराहारीमा जाँच गर्ने भनेतापनि त्यसो भएको छैन । साविकको भन्दा पनि परिक्षण घटेको छ । करिब ४ हजार हाराहारीम पछिल्ला दिनमा परिक्षण भईरहेको छ ।

अहिले देशभरीका क्वारेन्टिनहरुमा २९ हजार २ सय १५ जना रहेका छन् । देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ११८ जना संक्रमित उपचाररत रहेका छन् ।

यसैबीच बितेको २४ घण्टामा थप १८० जनामा कोरोना भाईरस ‘कोभिड – १९’  संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमित संख्या १६ हजार नजिक पुगेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएर उपचाररत अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न अस्पतालबाट २६४ जना संक्रमणमुक्त भएसँगै कुल संक्रमणमुक्त हुनेको संख्या ६ हजार ८ सय ११ पुगेको छ ।

यस्तै कोरोनाबाट हालसम्म ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले आज थप एकजनाको मृत्यु भएको पुष्टि गरेको हो ।  मृत्यु हुनेमा बाग्लुङ मिसिखोला गाउँपालिका ३ का २९ पुरुष रहेका छन् । उनी गत असार १ गते भारतबाट आएका थिए । परिवारसहित भारतमा रहेका उनी क्षयारोगले पिडित रहेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

उनलाई ढोरपाटन नगरपालिकाले असार १२ गते खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा राखिएको थियो । पछि नगरपालिकाले होम क्वारेन्टाइनमा पठाएको थियो । उनको आइतवारबिहान होम क्वारेन्टाइनमा मृत्यु भएको थियो । उनीसहित उनका ५ जना परिवारको पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ ।

मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्नू :  गृह मन्त्रालय

गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

असार १ गते नै सरकारले निर्देशन जारी गरेपनि कार्यान्वयन नभएकाले यसो गरिएको गरिएको गृह प्रवक्ता केदार शर्माले बताए ।

बाक्लो भिडभाड हुने घना बस्तीहरुमा कोरोनाको जोखिम उच्च रहेको भन्दै यसअघि पनि स्वास्थ्य मन्त्रालयले बारम्बार सचेत गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?