बैंकको प्रणाली नै ह्याक गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकको प्रणाली नै ह्याक गरी भ्रष्टाचार गरेको अभियोगमा आज तत्कालीन शाखा प्रबन्धकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाल बैंकको डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक भूपराज कोइरालाले बैंकमा जम्मा गर्नुपर्ने व्याजसमेत आफ्नो निजी खातामा जम्मा गरेको, बैंकिङ प्रणालीमा प्रयोग गरिने व्यक्तिगत टेलर आइडी र अन्य प्राविधिक प्रणालीको दुरुपयोग गरी रु ५४ लाख ८४ हजार ४५ बराबरको रकम दुरुपयोग गरेको पाइएको छ ।

बैंकिङ कार्यालयको हिसाब अनधिकृतरुपमा खर्च गरी सरकारी स्रोतको दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । आयोगले आरोपी कोइरालाले हानिनोक्सानी पु¥याएको रकम असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

यस्तै आयोगले कम्बल खरिदमा भ्रष्टाचार गरेको अभियोगमा राजदेवी नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार रजकसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गौरस्थित गिरधारीकुमार अग्रवालको पसलबाट रु ४०० प्रतिथान मूल्यपर्ने कम्बललाई रु एक हजार २०० प्रतिथानमा खरिद गरी हिनामिना गरेको पाइएको छ । सो नगरपालिकाले ४०८ थान कम्बल खरिद गरेको थियो । आयोगले गरेको अध्ययनअनुसार कम्बल खरिदमा रु एक लाख १५ हजार ७८२ बराबरको भ्रष्टाचार गरेको पाइएको छ ।

आयोगले तत्कालीन निमित्त कार्यलय प्रमुख प्रमोदकुमार वर्मा, तत्कालीन लेखापाल वैद्यनाथ झा, लेखापाल रेणु यादव, कम्बल बिक्रेता गिरधारीकुमार अग्रवाल, वडा नं २ का अध्यक्ष सनुप महतोविरुद्ध समान रु एक लाख १५ हजार ८७२ बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ । उनीहरुविरुद्ध बिगो असुल गरी कारवाहीको मााग गरिएको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?