ढाका बुन्दा खुशीको सीमा रहेन !

हिमलाल पराजुली / स्याङ्जा । ठूलो हलमा लहरै राखिएका तान । त्यही तानमा रङ्गीबिरङ्गी धागोसँगै घोतलिएका र कोही तान ठोक्दै गरेका महिलाको दृश्य देख्दा माहोल निकै रमाइलो देखिन्थ्यो । यस दृश्य थियो वालिङ उद्योग वाणिज्य सङ्घको सिटी हलको ।

कोरोना संक्रमणका कारण लामो समयसम्म बन्दाबन्दी हुँदा घरभित्र बस्दा उकुसमुकुस बनेका महिला ढाका बुन्ने काममा लागेपछि यतिबेला उनीहरुको अनुहारमा खुशी छाएको छ ।

उनीहरु यतिबेला ढाका बुन्ने काममा सक्रिय भएर लागेका छन् । उनीहरुलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र वालिङ नगरपालिका–९ तल्लो वालिङमा रहेको कानुङ आँधीखोला बचत तथा ऋण सहकारी संस्थाले सो अवसर जुटाई दिएको हो ।

सो मन्त्रालयअन्तर्गत महिला लघु उद्यम तथा उद्यमशील विकास कार्यक्रमअन्तर्गत व्यावसायिक ढाका बुनाइ सीप विकास तालीमको सञ्चालन भएपछि यतिबेला तालीममा सहभागी उनीहरु व्यावसायिक रुपमा ढाका बुनेर स्वरोजगार बन्ने योजनामा रहेका छन् ।

सो तालीममा सहभागी वालिङ–२ की लीला रानाले घरमा यतिकै बसेर समय कटाउनुभन्दा ढाका बुन्ने काम सिक्न पाएकामा आफूलाई धेरै खुसी लागेको बताइन् । उनले भनिन्, “घरमा त्यसै बसेर समय खेर फाल्नुभन्दा अब तालीममा सिकेको कुरालाई घरमा सही सदुपयोग गरेर सक्दो आम्दानीको स्रोत बनाउने योजना बनाएकी छुँ ।” घरको अन्य काम गर्दागर्दै पनि बीचमा मिलेको फुर्सदको समयमा पनि ढाका बुन्ने काम गर्न सकिने भएकाले यो कामबाट घर खर्च चलाउने योजनामा आफू रहेको उनी बताउछिन् ।

वालिङ–९ की भगवती रानाले सिकेको सीप आफूमा मात्रै सीमित नराखेर आफ्नो टोलका महिला दिदीबहिनीहरुलाई समेत सिकाउने जानकारी दिइन् । महिला दिदीबहिनीहरु आफ्नो सामान्य खर्चका लागि पनि पुरुषको भर पर्नुपर्ने अवस्थाबाट मुक्ति पाउनका लागि ढाका बुन्ने कार्य घरमै बसेर आयआर्जन गर्न सक्ने एउटा माध्यम भएकाले तालीम सकिएपछि आफू त्यस कार्यमा लाग्ने उनले बताइन् । उनले भनिन्, “कोरोनाको त्रासले घरमै बसेर के गर्ने भन्ने अन्योलमा परेका बेला ढाका बुनाइ तालीममा सहभागी भएर सिक्न पाएकामा निकै खुसी छु, यसलाई घरमा पनि निरन्तरता दिएर आयआर्जनको स्रोत बनाउँछु ।”

कानुङ आँधीखोला बचत तथा ऋण सहकारीका अध्यक्ष उमेश दर्लामीले मन्त्रालयको सहयोगमा सहकारीले तीनमहिने ढाका बुनाइ तालीम सञ्चालन गरेको जनाए । उनले भने, “हामीले महिला दिदीबहिनीहरुलाई कसरी उद्यमशील बनाउन सकिन्छ भनेर सोचिरहेका थियौँ, महिलालाई घरको काम सकेर फुर्सदको समयमा एक्लै पनि ढाका बुन्ने काम गर्न सकिने लागेर ढाका बुनाइ तालीम सञ्चालन गरेका हौँ ।”

तालीममा प्रशिक्षकका रुपमा रहेकी रुपा रानाले सहभागीहरु ढाका बुनाइतर्फ निकै आकर्षित भएको र उत्साहपूर्वक सिक्ने गरेको बताइन् । उनले सुरुसुरुमा तान लगाउने काममा दुःख भए पनि तान लगाइसकेपछि तालीममा सहभागीहरुले उत्साहाका साथ सिक्ने गरेको जानकारी दिए । अर्का प्रशिक्षक मीनुकुमारी रानाले अहिले सल र खादा बनाउन सिकाइएको जानकारी दिइन् । ढाका बुनाइलाई घरमै बसेर सहज रुपमा घरको कामधन्दा सकेर फुर्सदको समयमा काम गरेर पनि राम्रो आम्दानी लिन सकिने बताइन् ।

सबै वडामा पत्राचार गरेर वडाले छनोट गरी पठाएका १५ महिला तालीममा सहभागी भएको र सामाजिक दूरी कायम राखेर बिहान र दिउँसो गरी दुई चरणमा तालीम सञ्चालन गरेको सो सहकारी संस्थाका अध्यक्ष उमेश दर्लामीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?