राष्ट्रपतिसँग भेटेर के भने प्रचण्डले ? ‘साक्षी’ राखेर ओली – प्रचण्ड वार्ता !

काठमाडौं – राष्ट्रपतिलाई समेत महाभियोग लगाउने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिपछि नेकपाका शीर्ष तीन नेताले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् ।

आइतबार तीन शीर्ष नेता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल शीतलनिवास पुगेर वास्तविकता प्रष्ट पारेका हुन् । त्यसक्रममा तीनै नेताले आफूहरुले राष्ट्रपतिलाई विवादमा तान्ने कुनै प्रयास नगरेको र त्यो सोच्न पनि नसक्ने बताएका थिए । यसका अलावा राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रचण्डले  समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि कुराकानी गरेका थिए ।

राष्ट्रपतिसँग भेटे लगत्तै प्रचण्ड ओलीलाई भेट्न बालुवाटार गए 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता हुन लागेको छ। दुई अध्यक्षको तर्फबाट दुई–दुईजना सहयोगी नेताहरु समेत वार्तामा राखिएको बुझिएको छ । ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल, प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा छलफलमा सहभागी भएका छन् ।

हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र राष्ट्रपतिविरुद्ध कदम चालिएको भन्दै मन्त्रीहरुलाई ‘कता लाग्ने हो ? तयारी गर्नु पार्टी एक नहुन सक्छ ‘ भनेका कारण आजको भेटलाई निर्णायक मानिएको छ ।

पार्टीभित्रै आन्तरीक कलह र किचलो चुलिएपछि हुन लागेको यो वार्ताले के निष्कर्ष निकाल्ला भनेर धेरैमा चासो थपिएको हो । आजको भेटघाटलाई ‘अन्तिम अस्त्रको’ रुपमा हेरिएको छ ।

सोमबार स्थायी कमिटी बैठक बस्न लागेकाले पनि दुई अध्यक्षबीचको भेटर्वार्तालाई महत्वका साथ हेरिएको छ ।

प्राप्त जानकारी अनुसार स्थायी कमिटीका सदस्यहरुले दुई अध्यक्षबीच सहमतिको अधिकतम प्रयास हुन लागेको र पार्टी एकता गर्न सुझाएको जानकारी दिएका छन् ।

यसअघि छुट्टाछुट्टै अभिव्यक्ति दिएका र गुटगत बैठक गरेका प्रचण्ड र ओलीको आजको भेटलाई निर्णायक मानिएको छ ।

नेताहरुले भनेका छन् – ‘यो अन्तिम अस्त्र हुनसक्छ ।’ ओलीले प्रधानमन्त्री पनि दुवै पद नत्याग्ने अडान लिँदै आएका छन् भने प्रचण्ड र स्थायी कमिटीका अधिकांशले दुईमध्ये एउटा छोड्न भनेका छन् ।

स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि नेकपाभित्र विवाद चुलिएको छ ।

दुई अध्यक्षबीच अधिकतम सहमतिको प्रयास गर्ने भन्दै दुई दिनका लागि स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?