आफ्नो स्वार्थको लागि राष्ट्रपतिलाई विवादमा नल्याऔँ: नारायणकाजी श्रेष्ठ

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई विवादमा नतान्नका लागि आग्रह गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी पछिल्लो समयमा पार्टी राजनीतिमा सक्रिय भएको भन्ने हल्लाकाबीच प्रवक्ता श्रेष्ठले त्यस्तो बताएका हुन् । साथै राष्ट्रपति माथि महाअभियोग प्रस्ताव ल्याउने भन्ने हल्ला झुठो भएको पनि प्रष्ट पारेका छन् । राष्ट्रपति एउटा संस्था भएकाले त्यसलाई आफ्नो अनुकुलता अनुसार विवादमा तान्न नहुने पनि उनको भनाइ रहेको छ ।

उनले भने, “हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो।यो गरिमामय सँस्थालाई कसैले पनि आ(आफ्नो स्वार्थका लागि विवादमा नतानौं।राष्ट्रपतिको बिरुध्द महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं।राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं।राष्ट्रपतिज्यु स्वयंको पनि ध्यान जाने नै छ।”

पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक कलह बढेको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बढेको आन्तरिक किचलो बाक्लिएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटघाट बढाएका छन् । ओलीले राष्ट्रपति जस्तो संस्थालाई विवादमा ल्याएको आरोप छ भने राष्ट्रपति पनि पार्टीको आन्तरिक कलह मिलाउन पक्षपोषण गरेको  आरोप रहेको छ । गत बिहीवार प्रधानमन्त्री ओलीले एक्कासी मन्त्रीपरिषद् बैठक बोलाई दुवै सदनको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । राष्ट्रपति कार्यालयले त्यसको स्वीकार गरी तत्काल संसद सचिवालयमा पठाएको थियो ।

त्यसलगत्तै अर्का अध्यक्ष प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगि कुनै अध्यादेश ल्याउनको लागि हतारो गरिएको हो कि भन्ने जिज्ञासा राखेका थिए । राष्ट्रपति भण्डारीले त्यस्तो कुनै प्रयोजनको लागि संसद अधिवेशन अन्त्य नगरिएको बताएकी थिइन् । विधानत संसद र सभामुखलाई जानकारी गराएर मात्र मन्त्रीपरिषद्ले संसद अधिवेशनको अन्त्य गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?