भारतको दिल्लीबाट ६ नेपाली युवतीलाई फर्काइयो

काठमाडौं – विश्वभर ‘कोभिड- १९’ कोरोना भाइरस को सन्त्रास फैलिएको बेला सबैलाई आफ्नो स्वास्थ्य सुरक्षाको चिन्ता छ ।

तर धनकै लागि मरिहत्ते गर्नेलाई भने व्यक्तिगत स्वास्थ्यको चिन्ताभन्दा धन कमाउने उपायकै खोजीमा भौतारिन्छन् । यतिबेला बिचौलियाहरु मानव बेचबिखनकै तानाबाना बुनिरहेका छन् ।

सोझा साझा युवतीहरुलाई राम्रो जागिरको प्रलोभन देखाउँदै सीमा कटाउने गरेको घटना सार्वजनिक भएको छ । लकडाउनमा दैनिकी चलाउन निकै समस्या भएका युवतीहरु बिचौलियाको फन्दामा गरेका घटनाले मानव बेचबिखनमा बिचौलिया सक्रिय भएको तथ्य बाहिरिएको हो ।

शान्ति पुनस्र्थापना गृहले भारतस्थित देशभक्त आवाज सामाजिक संस्थाको समन्वयनमा ६ नेपाली युवतीहरुलाई नेपाल फर्काउन सफल भएको हो । देशभक्त आवाज सामाजिक संस्थाको समन्वयनमा असार १९ गते शुक्रबार नेपाल ल्याई पु¥याइएको शान्ति पुनस्र्थापना गृहकी कपिलवस्तु संयोजक निशा पन्थीले जानकारी दिइन् ।

भारतको दिल्लीबाट शुक्रबार विहान युवतीहरु नेपालको कृष्णनगर आइपुगेको संयोजक पन्थीले बताइन् । उद्धार गरिएका युवतीहरुलाई शुक्रबार नै थप अनुसन्धानको लागि केन्द्रिय अनुसन्धान व्युरो काठमाडौं पठाइएको गृहकी कपिलवस्तु संयोजक पन्थीले बताइन् ।

कुवेत र इरान निःशुल्क पठाइदिने प्रलोभनमा पारी गत ४ महिनाअघि ती युवतीहरुलाई बिचौलियाले भारतको दिल्ली पु¥याएको थियो । गत फागुन २९ गतेका दिन ती युवतीहरुलाई दुई बिचौलियाले सीमा कटाएका थिए । काठमाण्डौबाट पोखरा, बुटवल, कपिलवस्तु, दाङ हुँदै नेपालगञ्जको नाका हुदै भारतको दिल्ली पु¥याएको शान्ति पुनस्र्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए । बिचौलियाले दिल्लीस्थित बुरादी जोरदा भन्ने ठाउँमा नजरबन्द गरी राखेको क्षेत्रीय संयोजक भट्टराईले बताए । “विशेष सूचनाका आधारमा देशभक्त आवाज सामाजिक संस्थाको समन्वयमा ती युवतीहरुलाई नेपाल ल्याउन सफल भयौं”–भट्टराईले भने । उद्धार गरिएका युवतीहरु २६ वर्षदेखि ४१ वर्ष उमेर समूहका हुन् । उनीहरुमध्ये ४ जना मोरङ, एक झापा र एक पर्वतकी रहेको भट्टराईले जनाए ।

युवतीहरुलाई प्रलोभनमा पारी सीमा कटाउने एक महिला र एक पुरुष छन् । बिचौलियाहरुको खोजीकार्य भइरहेको क्षेत्रीय संयोजक भट्टराईले बताएका छन् । सांकेतिक तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?