रुपन्देही । वर्षासँगै आएको बाढी र पहिरोले प्रदेश नं ५ का विभिन्न जिल्लामा असर पुर्याएको छ । पहाडी जिल्लामा बाढी र पहिरो तथा तराईका जिल्लामा बाढीले असर गरेको छ ।
रुपन्देहीको कञ्चन नदीमा आएको बाढीले बगाउँदा एक किशोर बेपत्ता भएका छन् । कञ्चन गाउँपालिका –४ स्थित भैरवघाटको नदीमा पौडी खेल्न गएका बेला बाढीले बगाएर उनी बेपत्ता भएका हुन् । साथीहरुसँग नदीको ढावा किनारमा पौडी खेल्ने क्रमा आएको बाढीले कञ्चन– ४ प्रगतिचोक बस्ने टेकबहादुर थापाका १७ वर्षीय छोरा अर्जुनलाई बगाएर बेपत्ता बनाएको थियो । उनको खोजी भइरहे पनि अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए ।
निदाउनै सक्दैैनन् स्याउलीबासी
तानसेनः पाल्पाको रामपुर नगरपालिका – १ स्याउलीबजार क्षेत्रका मानिसलाई पानी पर्नेबित्तिकै घर पहिरोले लैजान्छ कि भन्ने पिर लाग्छ । स्याउलीबजार तथा निस्दी गाउँपालिकाको मित्याल जोड्ने मोटरबाटोमा पर्ने पाँच घर पहिराको जोखिममा छन् । स्याउलीबजारका गमबहादुर मल्ल, सूर्य श्रेष्ठ, दानस मल्ल, बालकुमारी मल्ल र लक्ष्मी उचैको घर पहिराको जोखिममा परेका हुन् ।
ठेकेदारले निर्माणकै क्रममा बाटाको माटो नसोहोरीकन छाडेकाले हिँडडुलमा समेत समस्या भएको स्थानीयवासी दानसले बताए । थप पानी पर्यो भने माथिबाट पहिरो खसेर कुनै पनि बेला घरमै क्षति पुग्ने हो कि भनेर रातभर निदाउन नसकेको स्थानीयवासी सूर्यले गुनासो गरे।
ठेकेदार शम्भु रेग्मीले भल पस्न सक्ने भए पनि पहिराको सम्भावना कम भएको बताउँदै सडकको माटो हटाएर सफा गरिने आश्वासन दिए । शिव खिम्ती, पशुपति र मोबाइल निर्माण कम्पनीले तीन चरणमा सडकको काम सम्पन्न गर्ने गरी निर्माणको जिम्मा पाएको प्राविधिक सागर पौडेलले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा स्याउलीबजार र फुर्केचौर, दोस्रो चरणमा फुर्केचौर र बर्दाकोट तथा तेस्रो चरणमा बर्दाकोट मित्यालसम्म बाटो चौडा पार्ने तथा मर्मत गर्ने कार्य सम्पन्न गरिनेछ ।
इञ्जिनीयर पौडेलले बाटाको भललाई अन्यत्रैबाट काट्ने र घरलाई जोखिमबाट बचाउने पहल गरिएको जानकारी दिए । करीब २५ किलोमिटरमध्ये ५ किलोमिटर मात्रै काम भएको बताइएको छ । सडक विभागको पूर्वाधार विकासअन्तर्गतको करीब ५ करोडको लागतमा सडक चौडा तथा मर्मत शुरु गरिएको हो । यसँगै कालीगण्डकी करिडोरअन्तर्गतका रामपुर क्षेत्रका सडकमा समेत हिलो, चिप्लो र पहिराका कारण आवतजावतमा समस्या छ ।
खानेपानी समस्यामा धुवाङबासी
झिमरुक– ऐरावती गाउँपालिका –४ धुवाङका बासिन्दालाई खानेपानी समस्याले पिरोलेको छ । यही असार १२ गते राति पानीसँगै आएको बाढीपहिराले खानेपानीको मुहानमा क्षति पुगेपछि समस्या भएको स्थानीयवासी बताउँछन् । पहिराले खानेपानीको ट्याङ्कीसमेत पुरेपछि गाउँमा खानेपानीको समस्या भएको हो ।
आधा घण्टासम्म पैदल हिँडेर वडा नं ४ को कैनपानी मूलबाट खानेपानीको जोहो गरिएको स्थानीयवासी खगेन्द्र खत्रीले बताउनुभयो । धेरै वर्षप धिुवाङ खोलाले मुहान थुनेपछि धुवाङ र खम्ची क्षेत्रका २११ घरपरिवार प्रभावित भएको उनको भनाइ छ ।
धुवाङ खोलाको बाढी र पहिराको डरका कारण आकाशबाट पानी परेपछि यहाँका बासिन्दा डरले घरबाहिर निस्कन थालेका छन् । बाढीले स्थानीयवासीका बारी भत्काइदिएको छ । सम्भावित जोखीम न्यूनीकरणका लागि स्थानीयवासीले तारजाली र तटबन्धका लागि माग गरेका छन् ।
चेरनेटा– चिन– जाबुने– अमिली सडकखण्ड विस्तार गर्ने क्रममा धुवाङ क्षेत्रमा क्षति पुगेको गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले बताए । यहाँ बाढीपहिराले खानेपानी तथा अन्य क्षेत्रमा क्षति पुर्याएपछि गाउँपालिका तहबाट स्थलगत निरीक्षण गरिएको उनको भनाइ छ । निरीक्षणका क्रममा खानेपानी समस्यासंँगै पाइप बगाएको पाएपछि खानेपानी कार्यालयबाट गाउँपालिकाले माग गरी उपलब्ध गराइएको उनले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया