नेकपाका दुई अध्यक्ष दुईतिरः नेताहरुको गुनासो – ‘स्थायी कमिटि ठट्टा जस्तै भयो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिहीवारको स्थायी कमिटि बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आपसी छलफलका लागि भन्दै स्थगित गरिएको बैठक पनि केही बेर बसेर सकिएको छ । त्यसलगत्तै प्रचण्ड राष्ट्रपति भेट्न शीतलनिवास पुगेका छन् ।

त्यसो त आजै नै प्रधानमन्त्री ओलीले पनि राष्ट्रपति भण्डारीसँग भेटघाट गरेको थिए । बिहान ११ बजे स्थायी कमिटी र १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएका अध्यक्ष ओली साढे ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्नका लागि शीतलनिवास पुगेका थिए ।

राष्ट्रपति निवासबाट फर्किएलगत्तै मन्त्रिपरिषद् बैठकमा सहभागी भए । मन्त्रीपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिबाट पनि बिहीवार साँझ ५ बजे नै संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरिसकेकी छिन् ।

प्रधानमन्त्री ओलीले आफू स्थायी कमिटिमा भन्दा प्रचण्डसँग एक्लै वार्ता गर्न चाहेकोले बैठक रोकेर भएपनि भेटघाटका लागि बोलाएका थिए ।

बिहीवार दिउँसो केहीबेर चलेको बैठकमा केशव बडाललगायतका नेताहरुले भने अहिले प्रधानमन्त्री ओलीलाई हटाउनुपर्ने कुनै कारण नभएको तर्क प्रस्तुत गरेका थिए ।

आफूखुसी बैठक नै अवरुद्ध गरी बाहिर हिडेकोमा केही स्थायी कमिटि सदस्यहरुले आलोचना गरेका थिए । पछिल्लो समय अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच एक आपसमा आरोप प्रत्यारोपका श्रीङ्खलाहरु चुलिएका छन् । स्थायी कमिटिले तय गरेको एजेण्डाभन्दा पनि शक्ति सन्तुलनमा दुबै अध्यक्ष लागिरहेका छन् ।

कतिपयले त स्थायी कमिटि बैठक नै ठट्टा जस्तै भएको टिप्पणी गरेका छन् ।

स्थायी कमिटी सदस्य तथा जेष्ठ कम्युनिष्ट मञ्चका अध्यक्ष नन्द प्रसाइँले भने, “स्थायी कमिटीको बैठक बोलाएर छलफल भएन, यो ठट्टाजस्तै भयो” ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?