ड्रोन उडाउने ४ जना पक्राउ

काठमाडौं । अनुमति बिना ड्रोन उडाउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२ लाजिम्पाटमा बिना अनुमति ड्रोन उडाउने कार्यमा संलग्न मार्चिङ एण्ड प्रालिका कर्मचारी ललितपुर महानगरपालिका-१० बस्ने ३१ वर्षीय रवि शाक्य सहित ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा मानव रहित हवाई उपकरण ड्रोन उडाएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले ड्रोन उडाउँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको छ ।

सोही ठाउँस्थित माछापुछ्रे बैंकको भवनको भिडियो खिच्न मार्चिङ एण्ड प्रालि कम्पनीलाई जिम्मा दिएकोमा उक्त ड्रोन बिना अनुमति उडाएको र निषेधित क्षेत्रमा पुगेको पाइएको अनुसन्धानबाट खुल्न आएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?