विप्लवका कार्यकर्तामाथि यस्तो एक्सन

काठमाडौं, १० फागुन- गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि निगरानी बढाएको छ। पछिल्ला दिनमा भौतिक संरचनासहित व्यक्तिगत सम्पत्तिमाथि विप्लव नेतृत्वको माओवादीले आक्रमण गरी आतंक फैलाइरहेको छ। गृहले विप्लवका कार्यकर्ता हिंसात्मक गतिविधिमा उत्रिएपछि उनीहरूलाई सभा, सम्मेलनलगायत गतिविधि गर्न नदिन र संगठित भएको पाइए तत्कालै पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ। गृहले हिंसात्मक गतिविधिमा संलग्न भएको पाइए विप्लवका नेता–कार्यकर्तामाथि तत्काल मुद्दा चलाउनसमेत निर्देशन दिएको छ। मंसिरमा भएका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बेला यो पार्टीका नेता–कार्यकर्ताले मुलुकका विभिन्न स्थानमा हिंसात्मक घटना गराई आतंक फैलाएका थिए, अन्नपूर्ण पोस्टमा खबर छ । केही समय साम्यजस्तो देखिएका उनीहरू पुनः भौतिक संरचना र भ्रष्टाचारीका नाममा व्यक्ति विशेषका सम्पत्तिमाथि आक्रमण गर्न थालेपछि गृहले उनीहरूमाथि कडा निगरानी गर्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ। गृहले संविधान र कानुनविरोधी काम गर्ने समूह वा व्यक्तिका गतिविधि माथि कडा निगरानी गरिएको जनाएको छ। उसले त्यस्ता अवाञ्छित गतिविधिमा सक्रिय हुने जोकोहीमाथि मुद्दा लगाइने र निगरानीका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको जनाएको छ। गृहप्रवक्ता नारायणप्रसाद दवाडीले शान्ति सुरक्षामा खलल पार्न खोज्ने व्यक्तिउपर कडा निगरानी गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?