नागरिकता संशोधन विधेयक फिर्ता लिन माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रश्तुत गरेको नागरिकता संशोधन विधेयकका केही व्यवस्था संविधानको मर्मविपरीत रहेको तर्क गर्दै फिर्ता लिन माग गरेको छ ।

मङ्गलवार अबेर रातिसम्म चलेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सोहीअनुसार संसद्मा प्रस्तुत हुन पार्टीको सङ्घीय संसदीय दललाई निर्देशसमेत गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले पाउने वैवाहिक अङ्गीकृत नागरिकता सम्बन्धमा प्रस्तावित संशोधन नेपालमा नागरिकता सम्बन्धमा संवैधानिक र कानूनी व्यवस्था भएको दिनदेखि कायम रहेको व्यवस्थाविपरीत र राजनीतिक, सामाजिक, सांस्कृतिक मान्यताविपरीत रहेको निस्कर्ष निकालेको छ ।

यस्तो संशोधनका कारण नागरिकता प्राप्तिका विषयमा थप संवैधानिक, सामाजिक एवं पारिवारिक जटिलतासमेत सिर्जना हुनसक्ने प्रबल सम्भावना रहने काँग्रेसको तर्क छ । यस सम्बन्धमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पार्टीको तर्फबाट काँग्रेसका सांसदहरुले फरक मत राखिसकेका छन् ।

बैठकले दाङको शान्तिनगर गाउँपालिका–२ का काँग्रेसका तर्फबाट निर्वाचित अध्यक्ष फर्साराम डाँगीलाई मङ्गलवार उनकै कार्यकक्षमा हतियारधारी समूह प्रवेश गरी मरणासन्न हुने गरी कुटपिट गरेको घटनाको भर्त्सना गरेको छ । उक्त घटनामा संलग्न व्यक्तिहरुको तुरुन्त खोजी गरी हदैसम्मको कानूनी कारवाही गर्न र गम्भीर घाइते हुनुभएका डाँगीको उचित उपचारको प्रबन्ध गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य मीना पाण्डे र संविधानसभाका पूर्वसदस्य ज्ञानकुमारी छन्त्याल गम्भीर अस्वस्थ हुनु भई उपचारार्थ रहहेकोमा उनीहरु दुबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकमा पार्टीको १४औँ महाधिवेशन कार्यतालिका बारेमा छलफल जारी छ । केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्दैछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?