काठमाडौं । निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि निवेदन परेको छ ।
तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो ।
यस विषयमा मंगलवार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चौथो स्थायी कमिटि बैठकमा पनि छलफल भएको नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले लोकपथलाई बताए ।
के भएको थियो चौथो बैठकमा ?
पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक किचलो बढेको छ । दुई अध्यक्ष रहेको नेकपामा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बाहिरै देखिनेगरी दोषरोपणहरु हुन थालेका छन् । लामो समयपछि गत असार १० गतेबाट बसिरहेको नेकपाको स्थायी कमिटि बैठकले विभिन्न ७ एजेण्डा पास गरेपनि एजेण्डाभन्दा अध्यक्ष ओलीको आलोचना र सरकारको काम गराइ प्रतिको टिप्पणीले बैठकमा स्थान पाइरहेको छ ।
ओलीको राजीनामा समेत माग, के के भयो बैठकमा ?
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटार बैठकमा चर्काचर्की भएपछि प्रचण्डले ओलीसँग अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा मागेको बुझिएको छ ।
नेकपाको जारी स्थायी समितिको चौथो दिनको बैठकमा गत आइतबार ओलीले दिएको अभिव्यक्तिलाई लिएर ओली र प्रचण्डबीच विवाद हुँदा राजीनामाको समेत माग हुने अवस्था आएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर ओलीले गल्ती गरेको टिप्पणी गरेका थिए । यस्तै ओलीबाट आएको यस्तो अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिर्नुका साथै भारतसँग जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन नसकिने समेत प्रचण्डले बताएका थिए ।
जवाफमा प्रधानमन्त्रीले बैठकमा भएको कुरा दिल्लीको मिडियामा कसरी हुबहु आयो भन्दै उल्टै प्रतिप्रश्न गरेका थिए । ‘हाम्रो बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले ? यसबारे पनि गम्भीर छलफल हुनुपर्छ’, जंगिँदै बैठकमा ओलीले प्रतिप्रश्न गरेका थिए ।
त्यसपछि प्रचण्डले पनि भारतले नभइ आफूले प्रधानमन्त्री र अध्यक्ष पद छाड्न भनेको भन्दै ओलीप्रति खनिएका थिए । बैठकमा विवादले नयाँ रुप लिएपछि नेकपा बैठक नयाँ मोडमा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया