काठमाडौं । काठमाडौं उपत्यकामा मंगलवार एकैदिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौंका ५ महिला र ७ पुरुष, ललितपुरका एक पुरुष र भक्तपुरकी एक महिलामा आज कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका दुई पुरुष र भक्तपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पाटन अस्पताल लिलतपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंकी एक महिला र ललितपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा काठमाडौंका ४ महिला ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रवक्ता गौतमका अनुसार आज उपत्यकामा भेटिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
आज काठमाडौं उपत्यकामा एकैदिन थपिएका संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै रहेको छ ।
यसैबीच हिजो (सोमवार) पनि काठमाडौं उपत्यकामा काठमाडौंका ६ जना, ललितपुरका एक र भक्तपुरका एक जना गरि आठ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैबीच नेपालमा आज (मंगलवार) एकैपटक ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार ५६४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २९ जनाको मृत्यु भएको छ ।
नेपालमा अहिलेसम्म ३ हजार १९४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
त्यसमध्ये २ हजार ९१७ पुरुष र २७७ जना महिला रहेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या ६० रहेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुमध्ये ९ जना महिला र ५१ जना पुरुष छन्।
नेपालमा हिजो (सोमवार) एकैपटक ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया