चीनमा वैश्विक महामारी बन्न सक्ने नयाँ भाइरस फेला, डराए वैज्ञानिक !

काठमाडौं । चीनमा वैज्ञानिकहरुले महामारी बन्न सक्ने फ्लू (रुघा) को नयाँ स्ट्रेन पत्ता लगाएका छन् । यो हालै मात्र पत्ता लागेको र सुँगुरहरुले यसलाई बोक्ने र मानिसहरुलाई पनि संक्रमित बनाउन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।

यो थप म्युटेसन भएर मानिसदेखि मानिसमा सजिलै सर्न सक्ने र वैश्विक महामारी बन्न सक्ने वैज्ञानिकहरुको चिन्ता छ । ‘तत्कालै यो समस्या होइन,’ उनीहरु भन्छन्, ‘तर यसमा मानिसलाई संक्रिमत बनाउन सक्ने बन्ने सबै गुणहरु रहेका छन् र यसको नजिकबाट अनुगमन गर्न जरुरी रहेको छ ।’

प्रोसिडिङ्स अफ द नेसनल एकाडेमी अफ साइन्सेसको जर्नलमा प्रकाशित लेखमा वैज्ञानिहरुले भनेका छन्, यो नयाँ भाइरस हो र यसप्रति मानिसमा निकै कम प्रतिरोधी क्षमता हुन सक्छ या नहुन पनि सक्छ । यो भाइरसलाई सुँगुरमा नियन्त्रण गर्ने उपाय तत्काल लागू गर्नुपर्ने र सुँगुरको मासुको उद्योगमा कार्यरत कर्मचारीको नजिकबाट निगरानी गर्नुपर्ने उनीहरु बताउँछन् ।

अहिले कोरोनाभाइरसको महामारीलाई अन्त्य गर्न जुधिरहँदा वैज्ञानिकहरु इन्फ्ल्युएन्जाको नयाँ स्ट्रेन लगायत अन्य सम्भावित रोगहरुका बारेमा पनि अध्ययन गरिरहेका छन् ।

सन् २००९ मा मेक्सिकोबाट शुरु भएको स्वाइन फ्लू पहिले सोचेभन्दा कम खतरनाक रहेको पाइएको थियो ।

किनभने यसको भाइरस त्यसअघिका फ्लूका भाइरससँग मिल्दोजुल्दो रहेको र धेरै वृद्धवृद्धासँग यसविरुद्ध प्रतिरोधात्मक शक्ति रहेको पाइएको थियो ।

ए-एचवानएनवान पीडीएम-०९ नाम दिइएको उक्त भाइरसविरुद्ध खोपलाई अहिले वार्षिकरुपमा दिइने खोपमा समावेश गरिएको छ ।

चीनमा फेला परेको फ्लूको नयाँ स्ट्रेन सन् २००९ को स्वाइन फ्लूसँग् मिल्दो जुल्दो रहेको छ तर यसमा केही फरकपन रहेको छ ।

तत्काललाई यसले ठूलो खतरा प्रस्तुत गरेको छैन तर प्राध्यापक किन चाउ चाङ र उनका समकक्षीहरु यसमाथि नजर राखिराख्नुपर्ने बताउँछन् । अध्ययनकर्ताहरुले उक्त भाइरसलाई जी४ ईए एनवानएनवान नाम दिएका छन् र यो मानिसको श्वासप्रश्वासको नलीको कोषमा बढ्न र वृद्धि हुन सक्छ ।

यो भाइरसले सुँगरको उद्योगमा काम गर्ने केही व्यक्तिलाई संक्रमित गरेको पाइएको छ । अहिलेको फ्लुको खोपले यसविरुद्ध काम नगर्ने देखिन्छ ।

बेलायतको नटिङहाम विश्वविद्यालयमा कार्यरत प्राध्यापक किन चाउ चाङ भन्छन्, ‘हाम्रो ध्यान कोरोना भाइरसमा छ तर यस्तो बेला अन्य सम्भावित खतरनाक भाइरसलाई नजरअन्दाज गर्न हुँदैन । यो भाइरस अहिले खतरा नभए पनि यसलाई बेवास्ता गर्न हुँदैन ।’

श्रोत बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?