ट्रम्पविरुद्ध वारेन्ट जारी, सघाउन इन्टरपोललाई इरानको आग्रह

काठमाडौं । इरान र अमेरिकाबीचको विवादले थप नयाँ मोड लिएको छ ।

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी (वारेन्ट) जारी गरेसँगै विवादले नयाँ रुप लिएको हो ।
अलजजिराको समाचारअनुसार इराकको बग्दादमा भएको ड्रोन हमलामा आफ्ना सैन्य कमाण्डरको हत्या आरोपमा ट्रम्पसहित दर्जन बढीविरुद्ध इरानले पक्राउ पुर्जी जारी गरेको हो ।

इरानले पक्राउका लागि इन्टरपोललाई सघाउन आग्रहसमेत गरेको छ ।

तेहरानका अभियोजक अली अलकासिमेहरले कुद्स फोर्सका प्रमुख कासिमको हत्यामा सोमबार ट्रम्पसहित झण्डै ३० जना संलग्न रहेको आरोप वारेन्ट जारी गरिएको बताए । अलकासिमेहरले ट्रम्प पदमा रहे पनि नरहे पनि उनीविरुद्धको मुद्दा चलिरहने स्पष्ट पारेका छन् ।

गत जनवरी ३ मा भएको आक्रमणमा इरानी कुद्स फोर्सका प्रमुख कासिम सुलेमानीको मृत्यु भएको थियो ।

त्यतिबेला अमेरिकी रक्षा विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सोलमानी हत्या गरिएको जनाएको थियो ।

यसैबीच इन्टरपोलले भने यसबारे कुनै प्रतिक्रिया दिइनसकेको अलजजिराको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?