संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य : प्रधानमन्त्री देउवा

भीष्मराज ओझा / न्यूयोर्क, ६ असोज ।प्रधानमन्त्री एवं नेपाली काँँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्धारित समयमा तीनै तहका निर्वाचन सम्पन्न हुनु आवश्यक भएको बताएका छन ।संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार आफ्नोको सम्मानमा नेपाली जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको स्वागत समारोहमा सो कुरा बताएका हुन ।लामो राजनीतिक लडाइँपछि जनताले आफ्ना जनप्रतिनिधिमार्फत नेपालको संविधान जारी गर्न सफल भएको बताउँदै प्रधानमन्त्री देउवाले भने, “स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेकोे छ, संघीय प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि संविधान कार्यान्वयनको महत्वपूर्ण चरण सम्पन्न हुनेछ ।”नेपाली काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुकमा शन्ति प्रक्रिया थालनी भई अन्तिम चरणमा पुगेको बताउँदै प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयनपछि नेपाल समृद्धिको दिशामा अघि बढ्ने धारणा व्यक्त गरे ।देउवाले मुलुकमा बहुदलीय व्यवस्था आएपछि सर्वसाधारणका लागि राहदानी सहज रुपमा उपलब्ध हुन लागेको स्मरण गर्दै तत्काल कानूनी व्यवस्था नभए पनि गैरआवासीय नेपालीले नेपाली नागरिकता पाउने सम्भावना रहेको औँल्याए ।कार्यक्रममा जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले प्रधानमन्त्री देउवाको सुझबुझपूर्ण राजनीतिक परिपक्वताले नै नेपालमा सबै दल निर्वाचनमा सहभागी हुने वातावरण बनेको र निर्वाचनपछि मुलुक समृद्धिको बाटोमा अघि बढ्ने धारणा राखे ।संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिने क्रममा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा असोज ४ गते न्यूयोर्क पुगेका हुन ।प्रधानमन्त्री देउवाले असोज ७ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?