ला लिगा : स्पानियोललाई पराजित गर्दै शीर्ष स्थानमा उक्लने दाउमा रियल

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आज (आइतबार) राति विभिन्न चार खेल हुँदैछ । ला लिगामा रियल मड्रिडले रेलिगेसन क्षेत्रको टिम स्पानियोलसँग भिड्दै छ ।

स्पानियोलको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ । रियल घरेलु टोलीलाई हराएर लिगको शीर्ष स्थानमा उक्लन चाहन्छ ।

त्यस्तै, ला लिगा अन्तर्गत नै अन्य खेलमा लेभान्टेले रियल बेटिससँग खेल्नेछ । त्यस्तै भिया रियलले भ्यालेन्सिया र ग्रानडाले इबरसँग खेल्नेछ ।

रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १ अंकले पछि रहेको छ । शनिबार सेल्टा भिगोसँग बराबरीमा रोकिदा बार्सिलोनाले अग्रता फराकिलो बनाउने मौका गुमाएको थियो ।त्यसैले स्पानियोललाई हराएमा रियल शीर्ष स्थानमा उक्लने छ ।

रियलले ३१ खेलमा ६८ अंक जोडेको छ । एक खेल बढी खेलेको बार्सिलोनाको ६९ अंक रहेको छ । २४ अंक जोडेको स्पानियोलमा पुछारमा रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?