काठमाडौं । कास्कीको रुपा गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गाउँपालिका कमिटीले आर्थिक सहयोग प्रदान गरेको छ ।
पार्टी कमिटीका अध्यक्ष सवाबक्स मियाँले आज गाउँपालिका अध्यक्ष नवराज ओझालाई पार्टीको तर्फबाट कोषमा जम्मा गर्नका लागि एक लाख ७८ हजार ३५५ हस्तान्तरण गरेका हुन् । रुपाका सातवटै वडाका पार्टी सदस्यबाट स्वेच्छिक रुपमा सहयोग रकम सङ्कलन गरेर सो रकम कोषमा जम्मा गरिएको अध्यक्ष मियाँले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष ओझाले कोभिड–१९ तथा अन्य प्राकृतिक विपत्तिका कारणले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग तथा राहत वितरणका लागि गाउँपालिकाले स्थापना गरेको कोषमा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग रकम जम्मा हुने क्रम जारी रहेको बताउँदै विषम परिस्थितिमा पार्टीले गरेको सकारात्मक सहयोगका लागि आभार व्यक्त गरे ।
गाउँ कमिटीका सचिव नवराज बरालले स्थानीय सरकारले कोभिड–१९ को रोकथाम, व्यवस्थापन तथा नियन्त्रणका लागि गरेका कार्यक्रमहरुमा पार्टी पङ्क्तिको तर्फबाट आवश्यक सहयोग र समन्वयका साथ काम भइरहेको बताए ।
रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया