क्वारेन्टाइनलाई व्यवस्थित र सुरक्षित बनाउन समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले क्वारेन्टाइनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।

शुक्रबार महिला तथा सामाजिक समिति बैठकले क्वारेन्टाइनहरुमा महिला हिंसाका घटनाहरु बढिरहेकोले व्यवस्थित र मर्यादित बसाईको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि निर्माण भएका क्वारेन्टाइनहरु पूर्ण रुपमा महिला मैत्रि नभएकाले यौन हिंसाका घटनाहरु बढेकोले मर्यादित र सुरक्षित क्वारेन्टाइनको व्यवस्थापन गर्न मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताइन् ।

सांसदहरुले क्वारेन्टाइनहरु व्यवस्थित नभएको गर्भवति महिलाहरुको पीसीआर परीक्षण समयमै नहुदा समस्या भएको बताएका छन् । सांसद अमृता थापाले सुत्केरी महिलाहरुको पीसीआर रिपोर्ट ढिला आउँदा अप्रेसनमा समस्या हुने गरेको बताइन् । उनले पीसीआर परीक्षणलाई प्राथमिकता दिनुपर्ने बताइन् । महिलाहरु रहेको क्वारेन्टिनको सुरक्षाका लागि महिला प्रहरीको आवश्यकता रहेको उनले बताइन् । उनले महिला प्रहरीको अभाव देखिए म्यादी महिला प्रहरी भर्नाको व्यवस्था मिलाउनुपर्ने बताइन् ।

सांसद हिरा गुरुङले क्वारेन्टाइनहरुमा महिलामाथि हिंसाका घटना बढिरहेको अवस्थामा मन्त्रालयले के गरिरहेको छ भन्दै प्रश्न गरिन् । क्वारेन्टाइनमा सुत्केरी महिलाहरुले दुःख पाइरहेको उल्लेख गर्दै उनले मन्त्रालयको तर्फबाट के कस्तो सहयोग भइरहेको छ बताएकी छिन्

सांसद महेन्द्र कुमारी लिम्बुले महिलामाथि हुने हिंसाका घटनाहरुमा बोल्न नसक्ने मन्त्री र समिति सभापतिले राजीनामा दिनुपर्ने पर्ने बताइन् ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री समेत सहभागि कार्यक्रममा अर्का सांसद गंगा चौधरीले क्वारेन्टाइनमै महिलामाथि हिंसाका घटनाहरु बढिरहेको भएपनि मन्त्रालय र समितिले तदारुकता नदेखाएको बताइन् । लक डाउनको समयमा सांसदहरुलाई आफ्नो गाउँ जान कुनै समस्या नभएपनि महिला हिंसा बढिरहेको क्षेत्रमा गएर अध्ययन गर्न के ले रोक्यो भन्दै उनले प्रश्न गरिन् ।

उनले महंगा कार्पेट किन्नु भन्दा सीप भएका महिलाहरुलाई प्रोत्साहन गरी स्थानीय स्तरमा उत्पादन हुने गुन्द्री प्रयोग गर्न आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?