कोरोना भाइरस विरुद्ध विकसित अर्को खोपको यूकेमा मानव परीक्षण शुरु

काठमाडौं । कोरोनाभाइरसविरुद्ध यूकेमा विकास गरिएको एक नयाँ खोपको परीक्षण मानिसमा शुरु गरिएको छ।

परीक्षणमा सहभागी हुने स्वयंसेवकहरूमा उक्त खोपले प्रतिरक्षा क्षमता बढाउन सक्छ कि सक्दैन भनेर हेर्न खोजिएको हो।

परीक्षणका क्रममा आगामी साताहरूमा झन्डै ३०० मानिसलाई यो खोप लगाइने बताइएको छ ।

इम्पीरीअल कलेज लन्डनमा शुरु गरिएको परीक्षणको नेतृत्व प्राध्यापक रोबिन शाटोक र उनका साथीहरुले गरिरहेका छन्।

जनावरहरूमा गरिएको परीक्षणले उक्त खोप सुरक्षित भएको र प्रतिरक्षा प्रणालीलाई सबल बनाउन प्रभावकारी देखिएपछि मानिसमा यो खोपको परीक्षण गर्न लागिएको हो ।
अक्स्फर्ड विश्वविद्यालयका विशेषज्ञहरूले पनि यो भन्दा अगाडि नै यस्तै किसिमको खोपको मानव परीक्षण शुरु गरेका थिए ।

अहिले विश्वभरि झन्डै १२० वटा खोप विकास कार्यक्रमहरू चलिरहेका छन्।

सहभागीको प्रतिक्रिया

वित्तीय क्षेत्रमा काम गर्ने ३९ वर्षीया क्याथी यो परीक्षणमा सहभागी हुने पहिलो मध्येकी एक स्वयंसेवक हुन्।

क्याथी इम्पीरीअल कलेजको खोप परीक्षण कार्यक्रममा स्वयंसेवक बनेर सहभागी भएकी छन्
उनले कोरोनाभाइरसविरुद्धको सङ्घर्षमा सहभागी हुन आफू उक्त परीक्षणमा सहभागी भएको बताएकी छन् ।

उनले भनिन्, मैले के सहयोग गर्न सक्छु भन्ने वास्तवमा थाहा नपाईकनै यो आयो र मलाई मैले यही सहयोग गर्न सक्छु भन्ने लाग्यो। खोप नबनीकन हामी सामान्य जीवनमा फर्किन सक्दैनौँ भन्ने थाहा भएर पनि म यसमा सहभागी हुन चाहन्छु ।

पहिलो चरणको परीक्षणपश्चात् आगामी अक्टोबरमा अर्को चरणको परीक्षण गर्ने योजना छ। त्यसमा ६,००० मानिसहरू सहभागी हुनेछन्।

इम्पीरीअल कलेजको समूहले उक्त खोप सन् २०२१ को आरम्भमा यूके र विदेशमा वितरण सुरु हुने अपेक्षा गरेको छ।

यसैबीच ड्यूक अफ केम्ब्रिज राजकुमार विलियमले चर्चिल अस्पतालमा अक्स्फर्ड विश्वविद्यालयको परीक्षणमा सहभागी स्वयंसेवकहरूलाई भेटेका छन्।

राजकुमारले स्वयंसेवकहरूको प्रशंसा गर्दै उनीहरूले गरिरहेको काम अत्यन्त रोमाञ्चक र स्वागतयोग्य भएको बताए।

धेरै खोपहरू भाइरसलाई परिमार्जित गरेर वा त्यसलाई निस्तेज पारेर वा त्यसको अंश प्रयोग गरेर बनाइएका छन्।

तर इम्पीरीअल कलेजले बनाएको खोप फरक रहेको छ।

यसमा कोरोनाभाइरसको नक्कल गर्ने कृत्रिम आरएनए अर्थात् आनुवंशिक संरचनाको प्रयोग भएको छ।

एक पटक मांसपेशीमा लगाएपछि आरएनएका प्रतिलिपिहरू आफैँ बन्न थाल्छन् र शरीरका कोषिकालाई तिनले भाइरसको सतहमा हुने स्पाईक प्रोटीन बनाउन निर्देशित गर्दछन्।

यसबाट प्रतिरक्षा प्रणालीले कोभिड(१९ वा सङ्क्रमण नभईकनै कोरोनाभाइरसलाई चिन्न र हराउन सिकाउँछ।

श्रोत बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?