काठमाडौं – कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा रहेको धार्मिक पर्यटकीय क्षेत्र भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणका लागि ५० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले मूर्ति निर्माण समितिका अध्यक्ष जनकराज जोशीलाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
मूर्ति निर्माणका लागि रु एक करोड रकम उपलब्ध गराउने प्रतिबद्धताअनुसार तत्काल ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको नगर प्रमुख विष्टले बताए। प्रतिबद्धताअनुसारको बाँकी रकमसमेत केही महिनाभित्रै उपलब्ध गराइने उनले बताए ।
मूर्ति निर्माणका लागि लागि भ्याली कन्स्ट्रक्सन प्रालिले रु १० करोड ८१ लाखमा मूर्ति निर्माणको ठेक्का लिई निर्माण कार्य शुरु गरेको छ ।
महाकाली शारदापीठका जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले मेची–काली भ्रमण गरी मूर्ति निर्माणका लागि धातु सङ्कलन गरेका छन् । मूर्ति निर्माणका लागि सुन, चाँदी पितल, तामालगायत धातु सङ्कलन गरिएका छन् ।
मूर्ति निर्माणका लागि भ्रमणका क्रममा उहाँले रु एक करोड, ८४ लाख, ७२ हजार चार रकम सङ्कलन गरेका थिए ।
मूर्ति निर्माणका लागि २२ देखि ३० टनसम्म धातुको प्रयोग हुने बताइएको छ । तीन वर्षभित्र मूर्ति निर्माणको कार्य पूरा हुने बताइएको छ ।
अष्टधातुको नेपाल आमाको ७५ फिटको मूर्ति बनेपछि देश विदेशका पर्यटक यसको दर्शनका लागि पुग्ने भएकाले यस क्षेत्रको महिमा बढ्ने भएको छ । तीन रोपनी क्षेत्रको जग्गामा मूर्ति राखिने छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया