ला लिगा फुटबल : मालोर्कालाई पराजित गर्दै रियल शीर्ष स्थानमा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पुन: शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा मालोर्कालाई पराजित गर्दै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

रियलको जितमा भिनिसियस जुनियर र सर्जियो रामोसले एक एक गोल गरेका थिए ।

शीर्ष स्थानको रियलले ६८ अंक जोड्न सफल रह्यो । बार्सिलोनासंग अंक बराबरी भएपनि हेड टू हेडका आधारमा रियल शीर्ष स्थानमा उक्लिन सफल भएको हो । पछिल्लो नतिजाले मालोर्का रेलिगेशनमा झर्ने सम्भावना प्रबल बनेको छ । मालोर्का २६ अंक सहित तालिकाको पुछारदेखि तेस्रोमा छ ।

घरेलु मैदानमा १९ औं मिनेटमा भिनिसियसको गोलमार्फत रियल मड्रिडले खेलमा अग्रता बनाएको थियो । रामोसले ५६ औं मिनेटमा गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए ।

मालोर्काले १५ बर्षिया युवा खेलाडी लुका रोमिरोलाई रियलबिरुद्ध डेब्यु गराएको थियो । उनी स्पेनिस ला लिगाका सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

रियलको तर्फबाट ग्यारेथ बेलले पहिलो पटक अवसर पाएका थिए । गत फेब्रुअरीपछि पहिलो पटक प्लेईङ सेटमा अवसर पाएका उनले खेलमा प्रभाव देखाउन असफल रहे ।

लिगमा ७ चरणको खेल बाँकी रहदा रियलले लिगमा अग्रता बनाउन सफल भएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?