काठमाडौं – कोरोना भाईरस ‘कोभिड – १९’ बाट मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् ।
बुधबार राति निधन भएका स्याङ्जाका एक पुरुषको शव व्यवस्थापनका लागि पोखरा ३२ स्थित मजुवा लैजाँदै गर्दा शवबाहन सहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेका हुन् ।
उनीहरुले मजुवामा शव व्यवस्थापन गर्न नदिने भन्दै घाट नजिकै टायर बालेर विरोध प्रदर्शन गर्दै अवरोध गर्दा झडप समेत भएको छ ।
झडपका क्रममा एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।
सरकारले कोरोना महामारीबाट बच्न सावधानीस्वरुप शवमा हुनसक्ने कोरोना भाईरस कोभडि १९ अन्य व्यक्तिमा नसरोस् भन्ने हेतुले शव ब्यवस्थापन कार्यविधी बनाएर अन्तिम संस्कार गर्दै आईरहेको छ ।
मृतकको विवरण यस्तो छ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको गए राती मृत्यु भएको हो ।
अस्पतालले दिएको जानकारीका अनुसार गए राति ११ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको बताइएको छ।
मृतक असार ८ गते आइसियूमा भर्ना भएका स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

कसरी गर्नुपर्छ कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधिमा मृत्यु भएका व्यक्तिको अन्तिम कर्म अन्य रोगी मृतकको जस्तो हुँदैन । अर्थात् परिवारले उनलाई टाढैबाट हेर्न पाउँछन् तर छुन वा अन्तिम संस्कार गर्न पाउँदैनन् ।
कार्यविधिअनुसार कोरोनाबाट मृत्यु भएकाको शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य प्रयोग गर्नुपर्छ ।
त्यस्तै मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्छ भने मृतकको शवलाई कम चलाउने र शवमा लागेका पाइप, केथेटरलगायत सामग्री सतर्कतापूर्वक हटाउनुपर्ने हुन्छ ।
त्यस्तै मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिएपनि सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पुर्याउनपर्ने हुन्छ ।
६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नदिने, अन्तिम संस्कार गर्दा सकभर शव नछुने तथा कोरोनाबाट मृत्यु भएकाको पोष्टमार्टम सामान्यतया गर्न नपर्ने गरेपनि सावधानी अपनाएर मात्रै गर्ने कार्यविधिमा उल्लेख छ ।
कोभिड- १९का कारणले मृत्यु भएका व्यक्तिको सामान्यतया पोस्टमार्टम गर्न नपर्ने पनि कार्यविधीमा छ । यदि पोष्टमार्टम गर्नुपरेमा मृतकको फोक्सो तथा अन्य अंगहरुमा जीवाणु जिउँदै हुनसक्ने हुनाले होसियारी अपनाएर गर्नुपर्ने उल्लेख रहेको छ । पोस्टमार्टम गरे यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा न्यून स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक पीपीई प्रयोग गरेर गर्न सकिने कार्यविधिमा उल्लेख छ ।
शवको कुनै भागबाट रक्तश्राव भइरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गरेर सुरक्षित हुनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया