काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आज मंगलबार उपाधि दाबेदार बार्सिलोनाले एथ्लेटिक बिल्बाओसँग प्रतिस्पर्धा गर्दैछ । साविक विजेता समेत रहेको बार्सिलोनाले घरेलु मैदानमा बिल्बाओसँग खेल्नेछ ।
बार्सिलोना र बिल्बाओबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ । क्याम्प नाउमा सहज जित निकाल्दै बार्सिलोना आफ्नो उपाधि होड कायम राख्न चाहन्छ ।
यस्तै बार्सिलोना जितसहित शीर्ष स्थानमा उक्लन चाहन्छ । ३० खेलमा ६५ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा रहेको छ । समान अंक भएपनि रियल मड्रिड गोल अन्तरमा शीर्ष स्थानमा रहेको छ ।
घरेलु मैदानमा जित निकाले बार्सिलोनाले रियललाई ३ अंकले पछि पार्नेछ । तर, बलियो टोली बिल्बाओविरुद्ध बार्सिलोनालाई जित निकाल्न सहज भने हुने छैन ।
किनकि बिल्बाओ पनि बार्सिलोनालाई हराएर अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । लिगको १० औं स्थानमा रहेको बिल्बाओले ४२ अंक जोडेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया