हालसम्म थाइल्याण्ड र सिंगापुरबाट कति नेपाली फर्किए ? यस्तो छ दूतावासको तथ्यांक

काठमाडौं । थाइल्याण्डबाट हालसम्म कोरोना महामारीको कारण समस्यामा परेका ३२५ जना नेपालीलाई नेपाल फर्किएका छन् । कोभिड १९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपालीहरुलाई नेपाल फर्काइएको बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।

मंगलवार दूतावासले एक विज्ञप्ती जारी गर्दै भनेको छ, “नेपाल सरकारबाट स्वीकृत “कोभिड- १९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७” मा उल्लेख भए बमोजिम यस राजदूताबासले नेपाल वायुसेवा निगमसंगको समन्वयमा थाइल्याण्डबाट १७ जुन २०२० मा २४७ जना र २३ जुन २०२० मा ७८ जना समेत जम्मा ३२५ जनालाई दुईवटा उडानबाट स्वदेश फर्काइएको छ।

त्यसैगरी राजदूतावासले हिमालय एयरलाइन्ससँगको समन्वयमा १७ जुन २०२० मा सिङ्गापुरबाट ११३ जना र कम्बोडियाबाट ३३ जनालाई उडानबाट स्वदेश फर्किएका छन् ।

यसरी थाइल्याण्डबाट नेपाल फर्किएकाहरुमध्ये छोटो अवधिको इन्टर्नशिपमा आएका, विभिन्न विश्विवद्यालयहरुमा अध्ययन पुरा गरेका र अध्ययनरत विद्यार्थीहरु २३४ जना, पर्यटक भिसा र पारिवारिक पूनर्मिलनका लागि आएका ५१ जना, बैदेशिक रोजगारको प्रलोभनमा परी अलपत्र परेका ९ जना, रोजगारी समाप्त भएका २२ जना, नेपालमा आफन्त गुमाएका २ जना, जेलमुक्त भएका १ जना र नावालक बच्चा ६ जना रहेका छन्।

यसैगरी सिंङ्गापुरबाट नेपाल फर्किएकाहरुमध्ये जेलमुक्त भई नेपाल फर्कन स्वीकृति पाएका २१ जना, ट्रान्जिटमा अलपत्र परेका ७ जना, पर्यटक भिसा र पारिवारिक पूनर्मिलनका लागि आएका १८ जना, रोजगारी समाप्त भएका ५६ जना र तालिममा आएका प्रशिक्षार्थी र विद्यार्थीहरु ९ जना समेत जम्मा ११३ जना रहेका छन्।

त्यस्तै, कम्बोडियाबाट फर्किएकाहरुमध्ये वैदेशिक रोजगारको प्रलोभनमा परी अलपत्र परेका १३ जना, रोजगारी समाप्त भएका ९ जना, पर्यटक भिसामा आएका ९ जना र तालिममा आएका सरकारी अधिकृतहरु २ जना समेत जम्मा ३३ जना रहेको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?