चिनियाँ कम्युनिस्ट नेताले सत्तारुढ दललाई प्रशिक्षण दिएकोमा मिनेन्द्र रिजालको आपत्ती

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले चिनियाँ कम्युनिस्ट नेताले सत्तारुढदललाई प्रशिक्षण दिएकोमा गम्भीर आपत्ती जनाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै उनले विगतमा छिमेकी राष्ट्रसँगको विशिष्ठ र कुटनीतिक सम्बन्धमा संवेदनशील हुन नसक्दा दुवै तर्फका नेता र दलहरु आलोचित हुन पुगेको भन्दै सत्तारुढ दलको ध्यानाकर्षण गराए । पछिल्लो समय चीनिया कम्युनिष्ट नेताहरु नेपालका सत्तारुढ दललाई प्रशिक्षण दिने र आन्तरिक झगडा मिलाउने काममा संलग्न हुनु “अपाच्य”रहेको भन्दै त्यस तर्फ गम्भीर नेकपाको ध्यानाकर्षण गराए ।

उनले भने “छिमेकी राष्ट्र भारत र चिन संग हाम्रो सम्बन्ध विशिष्ठ रहेको छ । हाम्रो र छिमेकका राष्ट्रहरुबीचको कुटनीतिक सम्बन्धको संवेदनशीलता र जनताहरुबीचको सौहार्दताको सिमा परवाह नगरेकाले दक्षिणको छिमेक र नेपाल दुवै तिरका दल र नेताहरु विगतमा आलोचित रहे । आगतमा उत्तरको छिमेकको दलको नेपालमा सत्तारुढ दललाई आन्तरिक प्रशिक्षण दिने र आन्तरिक झगडा र सत्ता सन्तुलन मिलाउनेमा लाग्ने काम उत्तिकै अपाच्य छ । यसमा सत्तारुढ दलको ध्यान जाओस् ।”

उनले प्रधानमन्त्रीका लागि फोरजी सर्भेलेन्स सहितको गाडी खरिद प्रक्रियाका सम्बन्धमा गृहमन्त्रीको जवाफ मागे ।

उनले भने, “प्रधानमन्त्रीका लागि फोरजी सर्भेलेन्स सहितको ५ करोड मुल्यको गाडी खरिद प्रक्रिया कोरोनाको कहरमा फागुन देखि रोकिएको थियो । असार ३ देखि नेपाल प्रहरीले यो प्रक्रिया अघि बढायो भन्ने खबर एक राष्ट्रिय दैनिकमा आयो । माननीय गृहमन्त्री के यो साँचो हो ? हो भने कोरोना रोकथाममा बेसार थेरापीको अलौकिक सफलताको उद्घोष पत्याएर बजेट खर्च गर्ने ठाउँ नपाईएला भन्ने डरले उल्फाको धन झै फजुल खर्च गर्न सरकारी तयारी हो यो । जवाफ पाउँ । ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?