लकडाउनमा एनआइसी एशिया लघुवित्तको सुविधाः असारमा कर्जाको ब्याजमा १० प्रतिशत छुट

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेका आफ्ना ग्राहक एवम् ऋणीहरूलाई परेको प्रभावको मूल्यांकन गर्दै असार महिनाका लागि कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने भएको छ ।

यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकद्वारा गत वैशाख १६ गते कोरोनाबाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदर ३ प्रतिशतले घटाई चालु आर्थिक वर्षको चौथो त्रैमासिकको ब्याज गणना गर्न निर्देशन जारी गरेको थियो । संस्थाले तत्काल पूर्ण कार्यान्वयन गर्दै सोको अलावा ऋणीहरूले जेठ महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता÷ब्याज रकम जेठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको र उक्त योजना अत्यन्त लोकप्रिय भएको थियो ।

संस्थाको यस योजना मुताविक नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको ३ प्रतिशत ब्याज छुटको अलावा यस बैंकबाट कर्जा सुविधा लिएका सम्पूर्ण ऋणीहरुले २०७७ असार मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी न्यून १ प्रतिशत र अधिक ६ प्रतिशत छुट गरिने सुविधा प्रदान गरिने संस्थाले जनाएको छ ।

यस सुविधा पश्चात अधिक व्याजदरको छुट प्राप्त गर्ने ऋणीको व्याजदर १२ प्रतिशत कायम हुनेछ । साथै साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाई गर्दा लाग्ने पेनाल चार्ज÷ब्याज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था वित्तीय संस्थाले गरेको छ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै वित्तीय संस्थाबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लाग हुनेछ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आईरहेको यस वित्तीय संस्थाले यस विषम परिस्थितिमा समेत आफु एक उत्तरदायी कर्पोरेट नागरिकको हिसाबले समग्र अर्थतन्त्रको सबलीकरणमा टेवा पु¥याउने मनशायले नियमनकारी निकायबाट जारी निर्देशनलाई अक्षरशः पालना गर्दै सो को अलावा थप सहुलियत प्रदान गर्दै ग्राहकहरूको सर्वोपरि हितलाई सम्बोधन गर्नु आफ्नो परम कर्तब्य र प्राथमिकताको रुपमा लिएको छ । नेपालको बैंकिङ्ग क्षेत्रमा अत्यन्तै दुर्लभ यस प्रकारको योजनाबाट सम्पूर्ण ऋणीहरूलाई लाभ लिन वित्तीय संस्थाले अनुरोध समेत गरेको छ ।

विश्व नै कोरोना महामारीको चपेटामा परेको यस अवस्थामा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पुर्‍याउनुपर्ने आजको मुख्य आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न वित्तीय संस्थाले यस्तो योजना ल्याएको हो । यसले गर्दा ग्राहकहरूको वित्तीय भार कम हुन गई यस कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास वित्तीय संस्थाले लिएको छ ।

साथै, यस संस्थाले ४४,४३,२०० कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गर्नका लागि आह्वान पत्र सार्वजनिक गरिसकेको पनि जानकारी गराएको छ । यस साधारण शेयरको विक्री खुल्ला तथा निष्काशन मिति २०७७/०३/१० गते र निष्काशन बन्द हुने मिति छिटोमा २०७७/०३/१४ गते (बैंकिङ्ग समय पश्चात) हुनेछ भने निष्काशन बन्द हुने मिति ढिलोमा २०७७/०३/२४ गते (बैंकिङ्ग समय पश्चात) हुनेछ । साथै शेयर खरिद गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पुर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट दरखास्त फारम प्राप्त गर्न र बुझाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?