भारत-चीन सीमा विवाद : ट्रम्प भन्छन्, ‘अमेरिका मध्यस्थता गर्न तयार छ’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र चीनबीचमा रहेको तनावलाई समाधानको लागि सहयोग गर्न आफू तयार रहेको बताएका छन् ।

उनले दुबै देशसँग अमेरिकाले उक्त विषयमा कुराकानी गरिरहेको जानकारी दिए।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाहिर पत्रकारसँग कुरा गर्दै यो एकदमै कठिन परिस्थित रहेको र अमेरिका भारत र चीनसँगको विवादको विषयमा मध्यस्थ्ता गर्न तयार रहेको बताएका हुन् ।

उनले भने, लद्दाखमा दुई देशबीच ठूलो समस्या छ, दुबै आम्नेसाम्ने भएका छन् र हामी अब के हुन्छ हेरिरहेका छौँ। हामी उनीहरूलाई सहयोग गर्न प्रयास गर्दैछौँ ।

गत साता सोमवार मंगलवार गलवान उपत्यकामा भारत र चीनबीच भएको हिंस्रक झडपमा भारतका वरिष्ठ सैन्य अधिकारीसहित २० सैनिकको मृत्यु भएको थियो भने चीनका पनि ४३ जना सैनिकको मृत्यु भएको बताइएको छ ।

तर यो पुष्टि केहि अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र भारतले मात्र दाबी गरेको छ। तर चीनले त्यसबारे आधिकारिक रूपमा कुनै अभिव्इक्ति दिएको छैन ।

भारत र चीनबीच विद्यमान तनावबारे अमेरिकी राष्ट्रपतिले गत महिना सामाजिक सञ्जालमा टिप्पणी गर्दै आफू मध्यस्थता गर्न तत्पर भएको बताएका थिए।

एक ट्वीट गर्दै ट्रम्पले भनेका थिए, ‘हामीले भारत र चीन दुबै देशलाई जारी सीमा विवादबारे मध्यस्थता गरिदिन अमेरिका तयार छ, इच्छुक र सक्षम भएको जानकारी दिएका छौँ। धन्यवाद।’

राष्ट्रपति ट्रम्पले चीनसँगको तनावका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मनोदशा नराम्रो भएको टिप्पणी गरेका थिए।

तर ट्रम्पले मध्यस्थताका लागि गरेको प्रस्तावलाई भारत र चीन दुबैले अस्वीकार गरिदिएका थिए।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले गलवानमा भारतीय सैनिकको मृत्यु भएकोमा समवेदना प्रकट गरेका थिए।

श्रोत बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?