प्रज्ञा प्रतिष्ठानको यस वर्षको कविता महोत्सव स्थगित

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ६३ औँ वार्षिकोत्सवका उपलक्ष्यमा असार ९ गते आयोजना गर्न लागिएको राष्ट्रिय कविता महोत्सव–२०७७ स्थगन गरिएको छ । प्रज्ञा–प्रतिष्ठानले एक सूचना प्रकाशित गरी ६३ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव स्थगन गरिएको जनाएको हो । ‘कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारी र बन्दाबन्दीका कारणले आषाढ ९ गते आयोजना गरिने विभिन्न कार्यक्रमहरूका साथै राष्ट्रिय कविता महोत्सव हाललाई स्थगन गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि योसूचना प्रकाशन गरिएको छ’ सूचनामा उल्लेख गरिएको छ ।

जारी सूचनामा ‘कविता महोत्सवका लागि समसामयिक विषयमा आधारित भएर नेपाली भाषामा लेखिएको १५० शब्द सम्मको आफ्नो कविता कम्प्युटर टाइप गरी २०७७ जेठ २५ गतेसम्म प्रतिष्ठानमा आइपुग्ने गरी पठाउनुहुन समस्त नेपाली कविहरूमा अनुरोध गरिएकोमा सूचना बमोजिम प्राप्त कविताहरूलाई एकत्रित गरेर गोप्य लाहाछापसहित खामबन्दी गरी सुरक्षित राखिएको छ’ भनी उल्लेख गरिएको छ ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत प्रसाद उपाध्यायले ‘कोरोनाको सन्त्रासबाट मुलुक सहज अवस्थामा प्रवेश गरेपछि उपयुक्त समयमा वार्षिकोत्सव र राष्ट्रिय कविता महोत्सव आयोजना गरिने र त्यसको पूर्वजानकारी सार्वजनिक सूचनामार्फत गराइने’ बताए । उपाध्यायले महोत्सवमा प्रतियोगिताका लागि बुझाइएका कविताहरू कार्यक्रम सम्पन्न नहुन्जेलसम्म विद्युतीय वा छापा लगायत कुनै पनि माध्यमबाट प्रसारण, प्रकाशन वा सार्वजनिक नगर्न÷नगराउन सम्बद्ध कविहरूलाई सूचित गरिएको सुनाए । उनले कार्यक्रम सम्पन्न गर्नुभन्दा अगाडि यी मध्ये कुनै कविता प्रकाशन, प्रसारण वा कुनै पनि माध्यमबाट सार्वजनिक भएको पाइएमा प्रतियोगितामा समावेश नगराइने र कार्यक्रम पूर्व प्रकाशन, प्रसारण वा सार्वजनिक भइसकेको प्रमाणित भएमा सम्बन्धित कवितालाई पुरस्कृत सूचीबाट समेत हटाइने बताए।

प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यएवम् साहित्य (पद्य.काव्य) विभाग प्रमुख प्रा।डा। हेमनाथ पौडेलले महोत्सवका लागि ५ सयदुई कविता प्राप्त भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?