बार्सिलोनाको सहज जित, रियल मड्रिडसंग ५ अंकको अग्रता

काठमाडौं । ला लिगा फुटबलमा भएको खेलमा बार्सिलोनाले सहज जित हात पारेको छ । लियोनल मेस्सी र अंशु फातीको गोलमा बार्सिलोनाले जित हात पारेको हो ।

मंगलबार भएको खेलमा बार्सिलोनाले लेगानेसमाथि २–० को जित निकालेको हो । जितसंगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसंग ५ अंकको अग्रता लिन सफल भएको छ ।

खेलको ४२ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । फातीले यस सिजन बार्सिलोनाका लागि ५ गोल गरिसकेका छन् । फाती बार्सिलोनाको फुटबल ईतिहासमा सबैभन्दा कम उमेरमा डेब्यु खेलमा गोल गर्ने खेलाडी हुन् ।

उनले १६ बर्ष २ सय ९८ दिनमा रियल बेटिसलाई ५–२ ले हराउने क्रममा बार्सिलोनाबाट गोल गरेका थिए । उनी ६ बर्षको उमेरमा परिवार सहित स्पेन गएका थिए । उनी सन् २०१२ देखि बार्सिलोनाको युवा एकेडेमीमा रहदै आएका छन् ।

लियोनल मेस्सीले ६९ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे । उनले बार्सिलोनाका लागि २१ औं लिग गोल पुरा गरे । अर्को हप्ता ३३ औं जन्म दिन मनाउने क्रममा रहेका उनले पेनाल्टीमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका थिए ।

फाती लगत्तै बार्सिलोनाका लागि एन्टोनियो ग्रिजम्यानले समेत गोल गरेका थिए । तर भारका कारण रेफ्रीले गोललाई मान्यता दिएनन् । रेफ्रीलाई अपशब्द प्रयोग गरेपछि लेगानेसका प्रशिक्षक जाभियर एगुईरेले रातो कार्ड पाएका थिए ।

शीर्ष स्थानको बार्सिलोनाको ६४ अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिडको ५९ अंक छ । तालिकाको पुछारमा रहेको लेगानेसको २३ अंक रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?