नेपालका कुन प्रदेशमा कति पुगे संक्रमित ? यस्तो छ मन्त्रालयको पछिल्लो विवरण

काठमाडौं – नेपालमा कोरोना संक्रमित बढेको बढ्यै छन् । देशका ७७ मध्ये ७३ जिल्ला स्थायी ठेगाना भएकाहरुलाई संक्रमण पुष्टि भएको छ ।
नेपालमा आज (मंगलवार) एकैपटक ३८० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ हजार ५९१ पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ९२ जना पुरुष र ४९९ जना महिला छन् ।

नेपालमा कोरोना भाइरसको महामारीका कारण १९ जनाको मृत्यु भईसकेको छ भने १ हजार १५८ जना कोरोनाको उपचार पछि निको भएर घर फर्किएका छन् । नेपालमा आज मात्रै थप ११७ जना संक्रमणमुक्त भएर घर फर्केका छन् ।

यसैबीच नेपालमा हिजो (सोमवार) एकैपटक ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जो नेपालमा एकैदिनमा थपिएका आजसम्मकै धेरै कोरोना संक्रमितको संख्या हो ।

आजसम्म पीसीआर विधिबाट १ लाख ४३ हजार ७ सय ३८ जनाको कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट २ लाख २३ हजार ५ सय १९ र पछिल्लो २४ घण्टामा ४ हजार १ सय ८३ जनाको आरडिटी परीक्षण भएको छ ।अहिले देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ५ सय ३१ जना रहेका छन् । क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ जना रहेका छन् ।

बढेको बढ्यै छन् संक्रमित : कहाँ कति बढे ? 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३ सय ८० जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार :

झापामा भएको परीक्षणमा : झापाका १ पुरुष र पाँचथरका एक महिला गरी २ जना

धरानमा भएको परीक्षणमा : सुनसरीका २ सिरहाका २ पुरुष गरी ४ जना

जनकपुरमा भएको परीक्षणमा : रौतहटका ५ जना महिला ३३ जना पुरुष, महोत्तरीका १ महिला १६ जना पुरुष गरी ५५ जना,

विरगञ्जमा भएको परीक्षणमा : पर्साका २ जना पुरुष

पोखरामा भएको परीक्षणमा : गोरखाका १ जना महिला ९ जना पुरुष, नवलपरासी पूर्वका २ जना पुरुष, बाग्लुङका १ जना पुरुष, तनहुँका २ जना पुरुष, कास्कीका ३ जना पुरुष, स्याङ्जाका ४ जना पुरुष गरी २१ जना

सेती अस्पताल प्रयोगशालामा भएको परीक्षणमा : अछामका १ पुरुष, बैतडीका १ महिला र २० जना पुरुष, डोटीका १ महिला र १९ जना पुरुष, कञ्चनपुरका ११ जना पुरुष, कैलालीका ४ महिला र १९ जना पुरुष गरी ७६ जनामा पोजेटिभ देखिएको छ ।

बाँकेमा भएको परीक्षणमा : बाँकेका १ जना पुरुष र बर्दीयाका ९ जना पुरुष गरी १० जना

राजविराजमा भएको परीक्षणमा : सप्तरीका ३ जना पुरुष

भरतपुर अस्पतालमा भएको परीक्षणमा : नवलपरासी पूर्व १ जना पुरुष

रुपन्देहीमा भएको परीक्षणमा : अर्घाखाँची १ जना महिला र दुईजना पुरुष, रुपन्देहिका १ जना पुरुष

सुर्खेतमाभएको परीक्षणमा : दैलेखका ५ जना पुरुष, सुर्खेतका १ जना महिला र ३ जना पुरुष

धुलिखेल अस्पतालमा भएको परीक्षणमा : धनुषाका २१ जना पुरुष र रामेछापका १ जना पुरुष गरी २२ जना

दाङमा भएको परीक्षणमा : सल्यानका १ पुरुष, दाङका १० जना महिला ४६ जना पुरुष ५७ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा : अर्घाखाँची ६ जना पुरुष, काठमाडौंका एक जना महिला, महोत्तरीका १ जना महिला ७१ जना पुरुष , मोरङका एक जना पुरुष, रौतहटका १४ जना पुरुष, रोल्पाका १ जना पुरुष, रुपन्देहिका ३ जना पुरुष र सर्लाहीका १६ जना पुरुष गरी  गरी १ सय १४ जनामा पोजेटिभ देखिएको छ ।

प्रादेशीक विवरण ग्राफमा हेर्नुहोस्    

रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ? यस्तो छ विज्ञको सुझाव : 

अशोक घिमिरे /  कोभिड–१९ महामारीले विश्वव्यापी रुप लिएसँगै गत चैत अन्तिम साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनहितमा एक सूचना जारी गर्दै रोग प्रतिरोधी क्षमता बढाउने जडिबुटीको नियमित सेवन गर्न आह्वान गर्‍यो ।

कोरोनाको विश्वसनीय खोप तथा औषधि पत्ता नलागेको अवस्थामा विभागले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउन ‘एन्टिव्याक्टेरियल’ तथा ‘एन्टिभाइरल’ गुण भएका जडिबुटीको सूचीसहित नियमित सेवन गर्ने बानी बसाल्न अनुरोध गर्‍यो । ती जडिबुटीमा गुर्जो, बेसार, सुठो, मरिच, दालचिनी तथा पिपला, असुरो, तुलसी र तेजपात थिए ।

स्वास्थ्य मन्त्रालयले पनि आयुर्वेद तथा वैकल्पिक चिकित्साका क्षेत्रमा लामो अनुभव भएका चिकित्सक तथा विज्ञसँगको परामर्शका आधारमा कोरोनाविरुद्ध लड्ने तथा रोग प्रतिरोधी क्षमता कसरी विकास गर्न सकिन्छ भनेर ‘प्रोटोकल’ निर्माण गर्‍यो । उक्त प्रोटोकल गत जेठ १५ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वीकृत गरेसँगै कार्यान्वयनमा आएको छ ।

विभागले सातै प्रदेशका सामाजिक विकास मन्त्रालय, आयुर्वेद अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेद औषधालय र सबै स्वास्थ्य सेवा कार्यालयलाई परिपत्र गर्दै उक्त प्रोटोकल कार्यान्वयनमा जोड दिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि दुई अञ्चल आयुर्वेद औषधालय र ११ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई उक्त प्रोटोकल कार्यावयन गर्न निर्देशन दिएको छ ।

प्रोटोकलमा आयुर्वेद औषधि, खानपान, योग, ध्यान तथा शारीरिक व्यायामको माध्यमबाट शरीरको प्रतिरोधी क्षमता बढाउन सकिने उल्लेख छ । साथै भान्छामा दैनिक प्रयोग गरिने मरमसलालगायत परम्परागत जडीबुटीबाट पनि प्रतिरोधी क्षमता बढाउन सकिने चिकित्सकहरु बताउँछन् । नेपालमा पनि कोभिड सङ्क्रमण भएका व्यक्तिलाई प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने विभिन्न प्रकारका आयुर्वेदिक औषधि खुवाइएको उदाहरण छन् ।

त्रिभुवन विश्वविद्यालय, आयुर्वेद शिक्षण अस्पताल कीर्तिपूरका निवर्तमान कार्यकारी निर्देशक प्रा डा डिबी रोका कोरोना रोकथामका लागि मुख्य औषधि पत्ता नलागेपनि आयुर्वेद एवं वैकल्पिक चिकित्साका उपचार विधि र औषधि प्रयोग गरी सङ्क्रमणलाई केही हदसम्म कम गर्न सकिने बताउनुहुन्छ । त्यसोतः आयुर्वेदमा महामारी नियन्त्रणमा सघाउ पुग्ने थुप्रै औषधि प्रयोगमा रहेको उनको भनाइ छ ।

महामारीको समयमा सङ्क्रमित मात्र नभई स्वस्थ्य व्यक्तिले पनि शारीरिक तथा मानसिक रुपमा आफूलाई बलियो राख्नु अत्यावश्यक छ । शारीरिक रुपमा स्वस्थ राख्न दैनिक व्यायाम, पोषिलो खानेकुरा, प्रतिरोधी क्षमता बढाउने जडिबुटीयुक्त आहार सेवन गर्न सुझाव दिँदै उहाँले योगाभ्यास तथा ध्यानका माध्यमबाट मानसिक स्वास्थ्य हासिल गर्न सकिने बताए ।

सरकारले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलन नपाओस् भनेर अन्यन्त्रबाट आएका नेपाली तथा विदेशी नागरिकलाई क्वारेन्टिनमा राख्दै आएको छ । अन्य व्यक्तिमा सङ्क्रमण नफैलियोस् भनेर सङ्क्रमितलाई ‘आइसोलेसन’मा राख्ने पनि गरिएको छ । सामान्यतयाः १४ दिन आइसोलेसनमा राखिने विश्वव्यापी प्रचलन भए पनि कतिपय अवस्थामा सङ्क्रमितलाई दुई साताभन्दा बढी आइसोलेसनमा राख्नुपर्ने पनि देखिएको छ ।

“क्वारेन्टाइन तथा आइसोलेनमा रहँदा मानिसहरु मानसिक तनावले गर्दा रोगसँग लड्ने शक्ति (इम्युनिटी पावर) झनै घट्दै जान्छ”, प्राडा रोकाले भने, “त्यसका लागि आयुर्वेद एवं वैकल्पिक चिकित्सामा वर्णन गरिएका योग अभ्यास एवं सत्तवाजय चिकित्साबाट उपचार गर्दा मानसिक तनावलाई कम गर्न सकिन्छ, साथमा वेद एवं आयुर्वेदको चरकसंहितामा वर्णन गरिएका तनाव कम गर्ने खालका औषधिको प्रयोग गर्नु वाञ्छनीय हुन्छ ।”

उनले मन्डुकपणि, ब्राम्मी, शङ्खपुष्पी, जोतिषमति, बोझो, जटामासी, अश्वगन्धा आदि औषधि प्रयोग गर्दा मानसिक स्वास्थ्य बलियो राख्न सकिने बताए । “भाइरससँगै पूरै लड्न सक्ने शारीरिक रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न चरकसंहिताअन्तर्गत रसायन चिकित्साका लागि प्रयोग हुने औषधि जस्तो तुलसी, हरिद्रा, जेठीमधु, द्राक्ष्य, सतावरी, अमला, पाँचऔँले, चिराइतो, गुर्जो (गिलोइ), कपिकक्षु, भुइँअमला, बासा, हरितकी, पदमचाल, यार्सागुम्बा, मुसली, शिलाजित, निरमसीलगायत औषधिको साथमा प्राङ्गारिक र सुपाक्ष्य पौष्टिक खाना खानुपर्छ”, उनले भने ।

जङ्कफुड भन्दा प्राकृतिकरुपमा पाइने गेडागुडी, दाल, हरियो, सागसब्जी, दूध र प्राकृतिक भिटामिन च्यावनप्राश खान उहाँले सुझाव दिए । प्रोटोकल बनाउने विज्ञ टोलीका सदस्यसमेत रहेका प्राडा रोकाले भने, “वेदमा लेखिएका कतिपय कुरा व्यवहारमा वैज्ञानिक र व्यवहारिक देखिएका छन् । त्यहीअनुसार आयुर्वेद ग्रन्थमा लेखिएको औषधि एवं चिकित्साका विधि किन प्रयोग नगर्ने ?”

भान्छामा दैनिक प्रयोग हुने टिमुर, खुर्सानी, लसुन, प्याज, बेसार, दालचिनी, ज्वानो, जिम्मु, धनियाँ, जिरालगायत मसलाबाट केही हदसम्म रोगको रोकथाम हुने सम्भावना बढ्ने आयुर्वेदज्ञाताले बताउँदै आएका छन् । बेसारले ‘एन्टिसेफ्टिक’, ‘एन्टिटक्सिन’ औषधिका रुपमा काम गर्दछ । यसका बारेमा अथर्वेद र आयुर्वेदमा पनि व्याख्या गरिएको छ ।

क्वारेन्टाइन तथा आइसोलेनसमा बसेका मात्र होइन आम नागरिकले पनि आफूलाई शारीरिक र मानसिकरुपमा स्वस्थ राख्न प्राकृतिक आहार र दैनिक ध्यान तथा योगाभ्यास गर्न उनले सुझाव दिए । प्रतिरोधी क्षमता विकास गर्न सूर्य नमस्कार, गरुडाशन, भुजाङशन, तडाशन, चतुराङ दण्डाशन, आधोमुख श्वानाशनलगायत योगासन गर्न उनले सुझाव दिए । त्यस्तै भस्त्रिका, अनुलोमविलोम, भ्रामरी र कपालभाती प्राणायम गरेर पनि प्रतिरोधी क्षमता बढाउन सकिने उनको भनाइ छ । रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?