आज योगिनी एकादशी, व्रत बस्नाले मिल्छ यस्तो फल

काठमाडौं । आषाढ मासको कृष्ण पक्षमा हुने एकादशीलाई योगिनी एकादशी भन्दछन् । यो तीनै लोकमा प्रसिद्ध तथा समस्त पापहरूलाई नष्ट गर्ने सामर्थ्यभएको एकादशी हो ।

यस दिन भगवान विष्णु अथवा उनको लक्ष्मीनारायण रुपको आराधना गर्नुपर्दछ । भगवानको प्रतिमालाई स्नान गराई स्वच्छ वस्त्रद्वारा सुसज्जित तुल्याउनु पर्दछ ।

धूप, दीप, नैवेद्य आदिद्वारा भगवान नारायणको पूजा गर्नु पर्दछ । पूजा एवं आरती पश्चात् व्राह्मणहरूलाई भोजन गराई दान आदि प्रदान गर्नु पर्दछ ।

महाभारत कालमा युधिष्ठिरले कृष्णसित यस लोकमा भोग तथा परलोकमा मुक्ति दिने योगिनी एकादशी व्रतको माहात्म्यका सम्बन्धमा सोध्नुभयो ।

कृष्णले युधिष्ठिरलाई यस योगिनी एकादशी व्रतका सम्बन्धमा बताउनुभयो – प्राचीन कालमा अलकापुरी नामक नगरीमा राजा कुबेरको दरबारमा हेम नामक एउटा माली बस्दथ्यो ।

उसको प्रति दिनको काम भगवान शंकरको पूजाका निम्ति मानसरोवरबाट फूल खोजी ल्याउनु थियो । एक दिन ऊ आफ्नी पत्नीसित हास्य–विनोदमा अल्मलियो र फूल लिई आउन बिर्सियो । राजा कुबेरले सिपाहीलाई मालीलाई पक्राउ गर्ने आदेश दिए ।

सेवकले माली आफ्नी पत्नीसित हास्य–विनोद गर्दै रहेको व्यहोरा राजालाई बतायो । यस्तो विवरण सुनेर क्रोधित भई कुबेरले उसलाई स्त्रीवियोग र मृत्युलोकमा जन्म लिई कोढ़रोगग्रस्त हुने श्राप दिए ।

श्रापबाट कोढ़ी भएर हेम माली पृथ्वीतलमा यत्रतत्र भौतारिदै एक दिन मार्कण्डेय ऋृषिका आश्रममा पुग्यो ।

ऋषिले आफ्नो योगबलद्वारा ऊ दुखी हुने कारण थाहा पाए । अनि उनले त्यसलाई योगिनी एकादशीको व्रत गर्न सल्लाह दिनुभयो ।

व्रतको प्रभावले हेम मालीको कोढ़रोग समाप्त भयो र ऊ दिव्य शरीर धारण गरी स्वर्गलोक फिर्ता गयो ।

भगवान कृष्णले आज्ञा गर्नुभयो – यस कथालाई पढ्ना वा सुन्नाले मात्र अथवा विधिपूर्वक व्रतको पालना गर्नाले मनुष्य सबै पापबाट मुक्त हुन्छ ।

शास्त्रमा यस व्रतको विधान, नियम–संयम र फल निम्नानुसार उल्लेख गरिएको छ ।

१. आषाढ़ महिनाको कृष्णपक्षको योगिनी एकादशी व्रतको नियम पालना दशमीको रात्रिकालबाट शुरु गर्नु पर्छ ।

यस व्रतलाई लिने व्यक्तिले दशमीका दिनदेखि नै तनमनबाट ब्रह्मचर्यको पालन गर्नु पर्छ र यौनप्रसंगदेखि टाढा हुनु पर्छ ।

२. एकादशीका यथासम्भव उपवास गर्नु पर्छ । उपवासमा अन्न त्याग्नु पर्छ वा भोजन नगरी यस व्रतलाई पालना गरिन्छ ।

संभव नभए एकभुक्त वा नक्त व्रत गर्नु पर्छ । अर्थात एक समय रात्रिकालमा मात्र भोजन गर्नु पर्छ ।

३. एकादशीका दिन मनोरञ्जन गर्नु, जुवा खेल्नु, दिउसो सुत्नु, दन्तधावन गर्नु, परनिन्दा, चुगली, चोरी, हिंसा, संभोग, क्रोध तथा असत्यवादन इत्यादि ११ किसिमका कर्म अनिवार्य रूपमा त्याग्नु पर्छ ।

४. एकादशीका दिन प्रातः स्नान गरी विष्णुको पूजा विधिविधानले गर्नु पर्छ । यो धार्मिक कृत्य स्वयं आफैले गर्नु पर्छ वा कुनै विद्वान ब्राह्मणद्वारा पनि गराउन सकिन्छ।

शास्त्रबमोजिम स्वच्छ कपडा लगाएर भगवान विष्णुको प्रतिमाका सामुन्ने बसेर संकल्प गर्नु पर्छ । संकल्प गर्दा निम्न मन्त्र उच्चारण गर्नु पर्दछ ।

मम सकल पापक्षयपूर्वककुष्ठादिरोगनिवृत्तिकामनया योगिन्येकादशीव्रतमहं करिष्ये ।

५. यसपछि भगवान पुण्डरीकाक्ष अर्थात विष्णुको यथोपचार पूजा गर्नु पर्छ । भगवान विष्णुलाई पंचामृत स्नान गराउनु पर्छ ।

स्नानपछि भगवानको चरणामृतलाई व्रत लिनेले आफ्नो र परिवारका सबै सदस्यका अंगमा छर्कनु पर्छ र त्यस चरणामृत पिउनुपर्छ ।

मानिन्छ कि यस कर्मद्वारा विशेष रुपले कुष्ठ र चर्म रोगीको पीड़ा समाप्त हुन्छ र ऊ रोगमुक्त हुन्छ । त्यस पछि गन्ध, पुष्प, धूप, दीप, नैवेद्य आदि पूजन सामग्रीद्वारा पूजा गर्नु पर्छ ।

६. प्रत्येक एकादशीका दिन विष्णु सहस्त्रनामको जप एवं भगवान विष्णुको कथा सुन्नु पर्छ ।

७. तनमनले हिंसाको त्याग गर्नु पर्छ र कुनै किसिमको कुभलो चिताउनु हुदैन र गर्नु पनि हुदैन । यथासम्भव रातको समयमा जागरण गर्नु पर्छ, भजन, कीर्तन एवं श्री हरिको स्मरण गर्नु पर्छ ।

योगिनी एकादशी व्रतको यसरी विधिविधानपूर्वक पालना गर्नाले सबै रोग र व्याधिको अन्त्य हुन्छ । साथै मनमा आफन्तसित भिन्न भई बस्ने भावना हराउँछ र विछोड भएका वा छुट्टिएका परिजन वा सम्बन्धितसित मिलन हुन्छ ।

ज्यो.दुर्गा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?