बढेको बढ्यै संक्रमित : हालसम्म पिसिआर विधीबाट कति भयो जाँच ?

काठमाडौं – नेपालमा कोरोना संक्रमणको पहिलो ‘केस’ गत वर्ष माघ ९ गते देखिएको थियो । त्यसबखत नेपालसँग कोरोना जाँच्ने प्रविधी नभएर नेपालमा लिईएको स्वाब हङकङमा लगि जाँचिएको थियो । नेपालमा पहिलोपल्ट पुष्टि भएका केस चीनबाट आएका युवाको हो । उनी उपचारपछि केहि दिनको अस्पताल बसाईपछि संक्रमणमुक्त भएर घर फर्केका थिए । त्यस मितीदेखि यता पीसीआर विधिबाट १ लाख ४३ हजार ७ सय ३८ जनाको कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट २ लाख २३ हजार ५ सय १९ र पछिल्लो २४ घण्टामा ४ हजार १ सय ८३ जनाको आरडिटी परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर यो परीक्षण पर्याप्त नभएको विज्ञहरुले बताएका छन् । नेपालमा पछिल्लो १ महिनादेखि दैनिक करिब २ सयभन्दा बढी संक्रमित थपिइरहेका छन् । यो परीक्षण पर्याप्त नहुँदा संक्रमण अझ फैलन जानेतर्फ विज्ञहरुले सुझाएका छन् । तर परीक्षणको दायरा केही मात्रै बढाईएको छ ।

कतिपय क्वारेन्टाईनमा बसेकाहरु बिना परीक्षण घर पठाइएको छ भने कतिपयलाई आरडिटी विधीबाट जाँच गरि घर पठाइएको छ । संक्रमितले दिएको जानकारी अनुसार कतिपय कन्ट्याक ट्रेसिङमा परेकाहरुको जाँच गर्न ढिलाई भएको छ भने परीक्षणको रिपोर्ट आउन निकै दिन कुर्नुपर्दा यदि उनीहरुमा संक्रमण भएमा फैलने जोखिम उत्तिकै छ ।

सरकारले आरडिटी जाँच गरेकाहरु जसको रिपोर्ट पोजेटिभ आउँछ । उनीहरुको पिसिआर जाँच पनि गर्ने गर्छ । तर फेरी आरडिटी जाँचको दायरा बढाउन भन्दै उपकरण र सामाग्री खरिद गर्न लागेपछि देशका विभिन्न शहरहरुमा यूवाहरुको यसविरुद्ध आन्दोलन गरेर १०० प्रतिशत पिसिआर जाँच हुनुपर्ने माग राखिरहेका छन् ।

संक्रमित बढेको बढ्यै , आज थपिए ३८०

नेपालमा आज (मंगलवार)  एकैपटक ३८० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ हजार ५९१ पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ९२ जना पुरुष र ४९९ जना महिला छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३८० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरे ।

कोरोना भाइरसको कारण १९ जनाको मृत्यु भईसकेको छ भने १ हजार १५८ जना कोरोनाको उपचार पछि निको भएर घर फर्किएका छन् । नेपालमा आज मात्रै थप ११७ जना संक्रमणमुक्त भएर घर फर्केका छन् ।

यसैबीच नेपालमा हिजो (सोमवार) एकैपटक ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जो नेपालमा एकैदिनमा थपिएका आजसम्मकै धेरै कोरोना संक्रमितको संख्या हो ।

क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ जना रहेका छन् । अहिले देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ५ सय ३१ जना रहेका छन् ।

मन्त्रालयका अनुसार : कहाँ कति बढे ? 

झापामा भएको परीक्षणमा : झापाका १ पुरुष र पाँचथरका एक महिला गरी २ जना

धरानमा भएको परीक्षणमा : सुनसरीका २ सिरहाका २ पुरुष गरी ४ जना

जनकपुरमा भएको परीक्षणमा : रौतहटका ५ जना महिला ३३ जना पुरुष, महोत्तरीका १ महिला १६ जना पुरुष गरी ५५ जना,

विरगञ्जमा भएको परीक्षणमा : पर्साका २ जना पुरुष

पोखरामा भएको परीक्षणमा : गोरखाका १ जना महिला ९ जना पुरुष, नवलपरासी पूर्वका २ जना पुरुष, बाग्लुङका १ जना पुरुष, तनहुँका २ जना पुरुष, कास्कीका ३ जना पुरुष, स्याङ्जाका ४ जना पुरुष गरी २१ जना

सेती अस्पताल प्रयोगशालामा भएको परीक्षणमा : अछामका १ पुरुष, बैतडीका १ महिला र २० जना पुरुष, डोटीका १ महिला र १९ जना पुरुष, कञ्चनपुरका ११ जना पुरुष, कैलालीका ४ महिला र १९ जना पुरुष गरी ७६ जनामा पोजेटिभ देखिएको छ ।

बाँकेमा भएको परीक्षणमा : बाँकेका १ जना पुरुष र बर्दीयाका ९ जना पुरुष गरी १० जना

राजविराजमा भएको परीक्षणमा : सप्तरीका ३ जना पुरुष

भरतपुर अस्पतालमा भएको परीक्षणमा : नवलपरासी पूर्व १ जना पुरुष

रुपन्देहीमा भएको परीक्षणमा : अर्घाखाँची १ जना महिला र दुईजना पुरुष, रुपन्देहिका १ जना पुरुष

सुर्खेतमाभएको परीक्षणमा : दैलेखका ५ जना पुरुष, सुर्खेतका १ जना महिला र ३ जना पुरुष

धुलिखेल अस्पतालमा भएको परीक्षणमा : धनुषाका २१ जना पुरुष र रामेछापका १ जना पुरुष गरी २२ जना

दाङमा भएको परीक्षणमा : सल्यानका १ पुरुष, दाङका १० जना महिला ४६ जना पुरुष ५७ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा : अर्घाखाँची ६ जना पुरुष, काठमाडौंका एक जना महिला, महोत्तरीका १ जना महिला ७१ जना पुरुष , मोरङका एक जना पुरुष, रौतहटका १४ जना पुरुष, रोल्पाका १ जना पुरुष, रुपन्देहिका ३ जना पुरुष र सर्लाहीका १६ जना पुरुष गरी  गरी १ सय १४ जनामा पोजेटिभ देखिएको छ ।

संक्रमणमुक्त हुनेहरु कहाँका कति ?

नेपालमा थप १ सय १७ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या १ हजार १ सय ५८ पुगेको छ ।

आज धरानबाट १ जना महिला र ६ जना पुरुष कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् ।

बाँकेबाट २२ जना पुरुष डिस्चार्ज भएका छन् । प्रवक्ता गौतमका अनुसार नारायणी अस्पतालबाट ३ जना पुरुष कोरोना संक्रमण जितेर घर फर्केका छन् ।

त्यस्तै, भिम अस्पताल भैरहवाबाट ५ जना महिला र २१ जना पुरुष डिस्चार्ज भएका छन् ।

कोभिड क्लिनिक अस्पतालबाट २५ जना पुरुषले कोरोना संक्रमण जितेका प्रवक्ता गौतमले बताए ।

कालिकोटमा २४ जना पुरुष कोरोना संक्रमण मुक्त भएका छन् । साथै दैलेखमा २ जना महिला र ५ जना पुरुष कोरोना संक्रमण मुक्त भएका छन् ।

प्रादेशीक अस्पताल सुर्खेतमा २ जनाले कोरोना संक्रमण जितेर। अस्पतालबाट डिस्चार्ज भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?