नेपालमा कोरोना अपडेट : मृतक १९ पुगे, संक्रमित ५ हजार ७ सय ६० (विवरणसहित)

काठमाडौं – नेपालमा कोरोना भाइरस ‘कोभिड-१९’ बाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मीको घुर्कोटका ३६ वर्षिय पुरुषको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार भारतबाट आएका ती पुरुषको जेठ १२ गते रुपन्देहीमा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । आइसोलेसनमा उपचाररत उनको जेठ ३१ गते आइसोलेसनमै मृत्यु भएको हो । उनी क्यान्सरका विरामी भएको मन्त्रालयले जनाएको छ ।

आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । आइतबार ४ सय २५ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको हो । संक्रमण ७३ जिल्लामा संक्रमण फैलिएको छ । आइतबार ६१ सहित जम्मा ९ सय ७४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

मृतक भारतबाट आई क्वारेन्टाईनमा थिए ?

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउनेको कुल संख्या १९ पुगेको छ ।

गुल्मीका कोरोना सङ्क्रमित एक व्यक्तिको गए राती मृत्यु भएको मन्त्रालयले जनाएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिवार राति निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

उनी यही जेठ २ गते भारतबाट गुल्मीस्थित गाउँमा आएका थिए । जैसीथोकस्थित पाञ्चायन माविको क्वारेन्टाइनमा बसेका बेला जेठ १२ गते उनमा कोरोना पुष्टि भएको थियो ।

त्यसलगत्तै थप उपचारका लागि जेठ १३ गते उनलाई तम्घासस्थित आइसोलेसनमा राखिएको थियो । उनी दुई वर्षदेखि अर्बुद र पायल्सको रोगी समेत थिए ।

सुरक्षाकर्मीको समूहले राति नै जैसीथोकस्थित एक जङ्गलमा उनको शव व्यवस्थापन गरेको छ ।

यससँगै गुल्मीमा कोरोनाका कारण ज्यान गुमाउने दुई जना पुगेका छन् । यसअघि मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको बुटवलमा निधन भएको थियो ।

कहाँका हुन् थपिएका संक्रमित ? 

विराटनगरमा भएको परीक्षणमा २७ जना, कोसी अस्पताल विराटनगर १० जना, नारायणी अस्पताल विरगञ्जमा ३४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा २ जना र सेती अस्पताल कैलालीमा ६४ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै भेरी अस्पताल बाँकेमा ७ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा १८ जना र धुलिखेल अस्पताल धुलिखेलमा २ जनामा संक्रमण देखिएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ४७ जना, प्रादेशिक अस्पताल सुर्खेत प्रयोगशालामा ६९ जना र हेटौडामा भएको परीक्षणमा २ जना जनामा संक्रमण देखिएको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु २५ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ६२ जनामा संक्रमण पुष्टि भएको छ ।

कति भयो जाँच ? 
अहिलेसम्म देशभरी पीसीआर विधिबाट १ लाख ३३ हजार ३ सय ७७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८९ जनाको परीक्षण भएको छ ।

यस्तै आइतबार आरडिटी विधिबाट २० हजार १ सय ३९ गरी अहिलेसम्म २ लाख १० हजार ७ सय २१ जनाको नमुना परीक्षण भएको छ ।

आइसोलनमा ४ हजार ७ सय ६७ जना

देशभरीका आइसोलनमा ४ हजार ७ सय ६७ जना आइसोलेसनमा उपचाररत रहेका छन् । १ लाख ४३ हजार ६ सय ४१ जना क्वारेन्टाइनमा छन् ।

नीजि प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने

कोरोनाको संक्रमण बढ्दै जाँदा सरकारले परीक्षणको दायर बढाउने उद्देश्यले थप निर्णय लिएको छ। सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षण गर्न दिने व्यवस्था गरेको छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर देवकोटाले निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षण गर्न अनुमति दिने निर्णय भएको जानकारी दिए ।

पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि परीक्षण गर्न दिने निर्णय भएको उनको भनाइ छ । त्यसरी नमुना परीक्षण गर्दा लाग्ने खर्च सरकारले नै बेहोर्नेछ ।

यसैबीच भाडामा बस्नेहरुलाई बाहिरबाट आउँदा कोरोना परीक्षणको प्रमाणपत्र माग गरिएको भन्दै स्वास्थ्य मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ। अनावश्यक कोरोना परीक्षण गर्ने व्यवस्था नभएको भन्दै मन्त्रालयले सम्बन्धित सबैलाई त्यसो नगर्न सचेत गराएको छ ।

धादिङमा सशक्त बन्दै कोरोनाः आजै थपिए २५ संक्रमित 

पछिल्लो समय धादिङमा कोरोना संक्रमितको संख्या बृद्धि हुँदै गएको छ ।आइतवार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनीहरुमध्ये १९ पुरुष र ६ महिला रहेका छन् ।

निको भएका कहाँका हुन् ?

बितेको २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् । जसमा ६ जना महिला र ५५ जना पुरुष रहेका छन् । योसहित नेपालमा कोरोना निको हुनेको कूल संख्या ९७४ पुगेको छ ।
आज नारायणी अस्पतालबाट ३ जना महिला र १ जना पुरुष कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् । पाटन अस्पतालबाट १ जना पुरुष डिस्चार्ज भएका छन् ।

साथै, धरानबाट १ जना महिला र २ जना पुरुष र रौतहटबाट ९ जना पुरुष डिस्चार्ज भएका छन् ।

यसैगरी, दार्चुला र डोटिमा १-१ जना पुरुष डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार डडेल्धुरामा ५ जना पुरुष कोरोना संक्रमण जितेर घर फर्केका छन् ।

यस्तै, कैलालीमा ६ जना पुरुष रबाँकेबाट १८ जना पुरुष डिस्चार्ज भएका छन् भने दाङमा १ महिला र ५ जना पुरुषले कोरोना संक्रमण जितेका छन् ।

हालसम्म कोरोना संक्रमण निको भएर घर फर्किने ९७४ मध्ये पुरुष ८७७ जना र महिला ९७ जना रहेको गौतमले जानकारी दिए ।

ओमानबाट हुने दोस्रो उडान तीन दिनअघि सर्‍यो, दूताबासको सूचना थाहा पाउनुभयो ? 

कोरोना भाईरस ‘कोभिड -१९’ का कारण परदेशमा अति अप्ठेरोमा परेका नागरिकलाई सरकारले उद्धार गर्दैछ ।

यसैक्रममा म्यानमार, युइए, कुवेतबाट केही नागरिक स्वदेश आएका छन् ।

यसैबीच ओमानबाट नेपाली लिएर आउने उडानको मिति परिवर्तन भएको छ । अर्थात् जुन २१ मा हुने भनिएको दोस्रो उडान तीन दिन अगाडि सरेको छ । अब उक्त उडान उक्त उडान जुन १८ मा नै हुने भएको छ । नेपाली राजदूतावास मस्कटले सामाजिक सञ्जाल फेसबुकमार्फत एक सूचना जारी गर्दै उडान छिटो हुन गइरहेको जनाएको हो । तर नेपाल फर्किने श्रमिकहरू कोरोना जाँच गरेर नेगेटिभ रिपोर्ट आएकाहरु मात्र आउन पाउनेछन् ।

ओमानस्थित नेपाली दूतावासमा विभिन्न माध्यमबाट आफ्नो अवस्था र नाम टिपाएकामध्ये प्राथमिकताका आधारमा उद्धार गरिँदैछ ।

सो उडानबाट १८० नेपाली घर फर्कनेछन् । यो उडानको एकतर्फी हवाइभाडा ११५ ओमानी रियल अर्थात् करिब ३६ हजार तोकिएको छ ।

यस्तै दूताबासले दोस्रो उडानका लागि दूतावासबाट प्रकाशित नामावली बमोजिमकाले १४ जुनमै ‘कोभिड १९’ को पीसीआर परीक्षण गरिसक्न अनुरोध गरेको छ ।

कोरोना नेगेटिभ देखिएका नेपाली स्वदेश आएपछि सीधै घर जान पाउने दूतावासले जनाएको छ ।

यसअघि नेपाल ल्याईएकाहरु अनिवार्य १४ दिन क्वारेन्टाईनमा बसेर मात्रै घर जान पाउने नियम भएकोले विभिन्न स्थानका क्वारेन्टाईनमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?