सुनसरी । सुनसरीको धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा कोरोनाको उपचारपछि घर फर्किएका बिर्तामोड–२ सोमबारेका दिलीप दर्जीलाई गाउँलेले शुक्रबार घर जान दिएनन् । दर्जी उपचारपछि सोमबारेस्थित साइँली भाउजूको घरमा जाँदै गर्दा भाउजूको घरमा पस्न गाउँलेले रोक लगाएका थिए । अस्पतालबाट डिस्चार्जपछि घर फर्कनुपूर्व दर्जीले भाउजूलाई आफू घर आउने कुरा जानकारी गराएका थिए ।
भाउजूले पनि उनलाई घरमा आउनु भनिन् । भाउजूको अनुमति पाए पनि दिलीपले घर भने जान पाएनन् । अस्पतालबाट डिस्चार्जपछि घर आउँदै गर्दा दिलीपलाई भाउजूले फेरि फोन गरेर घर नआउन भनेपछि दिलीप गत शुक्रबार बाटैमा अलपत्र परे । गाउँलेले भाउजूलाई कोरोनाको बिरामी घर नभित्र्याउन भन्दै धम्की दिएपछि दिलीप पाँच घण्टासम्म चारपानेस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको मैदानमा बसे ।
शुक्रबार राति बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्र सङ्ग्रौलासहितका जनप्रतिनिधिले थाहा पाएर प्रहरीसहित दिलीपलाई घर पुर्याभएका थिए । शुक्रबार राति १० बजे मात्रै घर पुगे दिलीप र उनकी भाउजूको परिवारलाई अहिले पनि गाउँमा हिँडडुल गर्न रोक लगाएको बताइन्छ ।
दिलीपलाई राति वडाध्यक्षसहित प्रहरीले घर पुर्याए पनि गाउँलेले केही समय विरोध जनाएका थिए । कोरोना उपचारपछि निको हुने रोग भएको भन्दै वडाध्यक्ष सङ्ग्रौलासहितका जनप्रतिनिधिले गाउँलेलाई सम्झाए पनि दर्जीको परिवार अहिले पनि समाजमा उपेक्षित भई बसेका छन् । गत जेठ १३ गते भारतबाट घर फर्किएका दर्जीलाई २० गते कोरोना सङ्क्रमण देखिएपछि उपचारका लागि धरान लगिएको थियो ।
बिर्तामोड–२ का दर्जी समाजका एक प्रतिनिधि पात्र मात्र छन् । उनको जस्तै पीडा छ बाह्रदशी गाउँपालिका–४ का सङ्क्रमित मजाहिर आलमको पनि । उनलाई पनि कोरोना सङ्क्रमण देखिएपछि विराटगरमा लगेर उपचार गरिएको थियो । उपचारपछि घर फर्किए पनि आलमको घरमा अहिलेसम्म छरछिमेक र साथीभाइ नआउने गरेको उनी दुखेसो गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया