पर्वत पहिरो अपडेट : ५ जनाको शव भेटियो, घटनास्थल फोटोमा हेर्नुहोस्

काठमाडौं – पर्वतको कुश्मा नगरपालिका वडा नं – ३ स्थित दुर्लुङ–ढकालबारी भन्ने स्थानमा शनिबार राति गएको पहिरोमा पुरिएर हराईरहेका ५ जनाको शव भेटिएको छ । बेपत्ता ४ जनाको खोजी भईरहेको छ । पहिरोले २ घर बगाएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतका सूचना अधिकारी धनश्याम गौतमले अहिले स्थानीयका साथै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार जारी राखेको जानकारी दिए ।

अहिले घटनास्थलमा स्काभेटरको प्रयोग गरेर बेपत्ताको खोजी कार्य चलिरहेको छ ।

शनिवार साँझ करिव दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापा, दीपा थापा, कमला विकको शव फेला परेको छ।

बेपत्ता हुनेहरुमा सम्राट थापा, विवेक थापा, जेनिस विक र प्रमिसा विक छन् ।

पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए ।

स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गर्ने क्रममा तीन जनाको शव बिहानै फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक वुद्धि सुवेदीले जानकारी दिए ।

राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए । अहिले बिहानबाट पुनः उद्धारकार्य शुरु भएको कुश्मा–३ का वडाध्यक्ष तेजप्रसाद पाध्यायले बताए।

पहिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन् । स्थानीयवासीका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको छ ।

वर्षाकै कारण पहिरो आएको हुनसक्ने स्थानीय प्रमुख गुरुङले जानकारी दिए। त्यहाँका केही घरहरु पहिरोको जोखिममा परेका छन् ।

घटनास्थल पुगेर (पत्रकार /फोटोग्राफर) सागर गिरीले संकलन गर्नुभएका फोटोहरु हेर्नुहोस् ।

        

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?