टिपरबाट खसेर सहचालकको मृत्यु

रुकुमपूर्व । सिस्ने गाउँपालिका वडा नं ३ पोखरामा टिपरबाट खसेर एक जनाको मृत्यु भएको छ । टिपरको छतबाट खस्दा टिपरको पछाडिको पाङ्ग्राले किचेर सहचालक रोल्पा रुन्टीगढी गाउँपालिका– ६ का २१ वर्षीय चन्द्रबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिस्ने– ३ को अमलाचौरमा निर्माणाधीन स्वास्थ्यचौकी भवनका लागि दाङबाट इँटा लिएर आएको चुबे ढुवानी सेवाको रा १ ख १४३५ नम्बरको टिपरले पोखरामा छतबाट खसेका विकलाई किचेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए ।

उनका अनुसार सहचालक विकले टिपरको छतमा बसेर तलतिर झरेका बिजुलीको तारलाई माथि बनाउने र चालकले टिपर अगाडि बढाउने गरिरहेका थिए । सोक्रममा भुइँमा खस्दा उनलाई टिपरले किचेको थियो ।

चालक घोराही उपमहानगरपालिकाका ४९ वर्षका ओमप्रकाश घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?