काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले दर्ता गरेको संविधान संशोधन विधेयकमाथि गरेको संशोधन प्रस्ताव अस्वीकृत भएको छ ।
सभामुखले संशोधन सूचना अस्वीकृत गरेर पछि कार्यसूची प्रकाशन गरेको संसद सचिवालयले जनाएको छ ।
आज (शनिवार) संसदमा नेपालको निशान छापमा भएको नेपालको परिवर्तित नक्सा राख्नको लागि संविधान संशोधनका विषयमा मतदान हुँदैछ ।
गिरीले संविधान संशोधन विधेयकको दफा २ खारेजीको माग गर्दै संशोधन प्रस्ताव दर्ता गरेकी छिन्। दफा २ मा मूल संविधानको धारा ९(२) सँग सम्बन्धित अनुसूची ३ को व्यवस्था छ। उक्त अनुसूचीमा नेपालको नक्सासम्बन्धी व्यवस्था छ।
गिरीले दर्ता गराएको विधेयक मंगलवार सैद्धान्तिक छलफलपछि संशोधन दर्ताका लागि अनुमोदन भएको थियो। विधेयक अनुमोदन भएपछि शुक्रवारसम्म संशोधन प्रस्ताव दर्ताको समय दिइएकोमा गिरीको एकमात्र संशोधन दर्ता भएको छ।
गिरीले आवश्यक प्रमाणबिना नै नक्सा जारी गरेको भन्दै उक्त संशोधन हटाउन माग गर्दै विधेयक दर्ता गरेकी थिइन् ।
पूरै दफा खारेजीको माग भएको तर विकल्प समेत प्रस्तुत नभएको, संविधानको आधार सिद्धान्त विपरीत रहेको भन्दै संशोधन प्रमाणित नभएको स्रोतले जनाएको छ । स्रोतका अनुसार उक्त संशोधन स्वीकारयोग्य नभएको भन्दै सभामुखले प्रमाणित नगरेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया